अन्तर्राष्ट्रिय

मध्यावधिको प्रारम्भिक नतिजापछि ममदानी : अब डेमोक्र्याटले काम गरेर देखाउनुपर्छ

अमेरिकाको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले डेमोक्र्याटिक पार्टीले कंग्रेसका दुवै सदनमा अग्रता लिइरहेका बेला न्यूयोर्कका मेयर जोहरान ममदानीले अब डेमोक्र्याटहरूको काम सुरु हुने बताएका छन्।

म्यानहट्टनमा आयोजित चुनावी निगरानी कार्यक्रममा बोल्दै ममदानीले डेमोक्र्याटहरूले काम गरेर देखाउने र दक्षिणपन्थीहरूको खोक्रा वाचा तथा निरन्तर विश्वासघातको विकल्प दिने अवसर पाएको बताए।

‘साथीहरू, हामीसँग डेमोक्र्याटहरूले काम गरेर देखाउन सक्छन् भन्ने प्रमाणित गर्ने अवसर छ। खोक्रा वाचा र दक्षिणपन्थीहरूको निरन्तर विश्वासघातको विकल्प प्रस्तुत गर्नुपर्नेछ,’ उनले भने।

न्यूयोर्ककी डेमोक्र्याटिक गभर्नर क्याथी होचुलले पुनः चुनाव जितेको घोषणा भइरहेका बेला ममदानीले कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘न्यूयोर्क सहरका सडकबाट हामीले सुरु गरेको काम आज राति देशभर अघि बढिरहेको छ,’ उनले थपे।

अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत प्रतिनिधि सभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको छ। प्रारम्भिक नतिजाले दुवै सदनमा डेमोक्र्याटहरूको अग्रता देखाएको छ। सिनेटमा बहुमतका लागि ५१ र प्रतिनिधि सभामा २१८ सिट आवश्यक पर्छ।

बढ्दो महँगी र जीवनयापनको लागत मतदाताका प्रमुख चासो बनेका छन्। अधिकांश मतदाताले यसको दोष राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई दिएका छन्। उनीहरूले ट्रम्पमाथि थप निगरानी राख्न कंग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: १८ कार्तिक २०८३ ०९:०४ बुधबार