अन्तर्राष्ट्रिय

राजनीतिक अस्तित्व जोगाउन संघर्षरत ममता

विगत १५ वर्षसम्म ममता बेनर्जी र उनको क्षेत्रीय दल तृणमुल काग्रेस पश्चिम बंगालको राजनीतिमा एउटा अटल सत्यजस्तै देखिन्थ्यो । यो पार्टीले कुनै न कुनै तरिकाले सधैं आफ्नो अस्तित्व जोगाउने गरेको थियो । तर गत  सोमबार त्यसको क्रमभगता भयो ।  

आक्रामक जनवादी नेतृको रुपमा आफ्नो पहिचान बनाएकी बेनर्जीको हारले उनलाई लगातार चौथोपटक मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित गराएकोछ । यो घटनाले  उनलाई ज्योती बसु र नबिन पट्नायक जस्ता लामो समय शासन गरेका क्षेत्रीय दिग्गजहरूको पंक्तिमा उभ्याएको छ ।  

बेनर्जीको हारले समकालीन भारतीय राजनीतिका सबैभन्दा असाधारण राजनीतिक यात्रामध्ये एक मानिने परिघट्नालाई गम्भीर अनिश्चितताको मोडमा उभ्याइदिएको छ । बेनर्जीको यात्रा सडक आन्दोलनबाट सुरु भएको थियो र अहिले उनको यात्रा आफैंले निर्माण गरेको राजनीतिक किल्लाको नाजुक चरणसम्म आइपुगेको छ।

सानो कद, साधारण कपासको साडी र रबरको चप्पल लगाएकी बेनर्जी कहिल्यै त्यस्ती शक्तिशाली नेतृ जस्तो देखिँदैनथिन्, जसले संसारकै सबैभन्दा लामो समयसम्म निर्वाचित कम्युनिस्ट सरकारलाई सत्ताच्युत गरेकी थिइन् ।  

सन् २०११ मा उनले कम्युनिष्ट पार्टी अफ इन्डियालाई लाई पराजित गर्दै ३४ वर्षसम्म लगातार सत्तामा रहेको कम्युनिस्ट शासन अन्त्य गरेकीथिइन् । यससँगै उनले पश्चिम बंगालको पहिचानजस्तै बनेको कम्युनिष्टको राजनीतिक संरचनालाई उल्टाइ दिएकी थिइन् । त्यतिबेला भारतको बौद्धिक र व्यापारिक राजधानी मानिने यो राज्य दशकौँसम्म औद्योगिक पतन र राजनीतिक थकानको अवस्थाबाट गुज्रिरहेको थियो।

त्यसबेला अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले उनलाई ‘उनीहरूको आफ्नै बर्लिन पर्खाल भत्काउने कठोर हतियार’ भनेर वर्णन गरेको थियो। साथै अर्को अमेरिका पत्रिका टाइमले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिमध्ये एकको रूपमा सूचीकृत गरेको थियो।

बंगालको संघर्षपूर्ण राजनीतिक संस्कृतिमा बेनर्जीको उदय भएको थियो, जहाँ चुनावहरू प्रायः लामो सडक युद्धजस्ता देखिन्थे- उनका समर्थकहरूले उनलाई ‘अग्निदेवी’ भनेर सम्बोधन गर्थे ।  

कोलकाताको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी बेनर्जीले कांग्रेसको विद्यार्थी संगठनमार्फत राजनीतिमा प्रवेश गरेकी थिइन्। सन् १९८० को दशकसम्म उनी राज्यको सबैभन्दा चर्चित कम्युनिस्टविरोधी अनुहारमध्ये एक बनिन् र पछि कांग्रेसबाट अलग भएर टीएमसी गठन गरिन्।

सन् १९९० मा एक विरोध प्रदर्शनका क्रममा कम्युनिस्ट कार्यकर्ताहरूले उनीमाथि आक्रमण गरेको आरोप लागेको थियो, जसमा उनको टाउकोको हड्डी फुटेको र अस्पताल भर्ना हुनुपरेको थियो।

त्यो घटनाले उनले दशकौँसम्म बनाएको छविलाई अझ बलियो बनायोः आंशिक रूपमा सडक योद्धा, आंशिक रूपमा शहीद- सत्तामा हुँदा पनि निरन्तर विद्रोही रुपमा उनी रहिन् ।  

सन् २००७ मा सिंगुरमा टाटाको कार कारखाना र नन्दीग्राममा कम्युनिस्ट सरकारले गरेको जमिन अधिग्रहणको विरोध गरेपछि बनर्जीको राजनीतिक उचाइ तीव्र रूपमा बढ्यो । बलपूर्वक औद्योगिकीकरणविरुद्ध किसानहरूको पक्षमा उभिएको नेतृका रूपमा आफूलाई प्रस्तुत गर्दै उनले ग्रामीण र गरिब मतदाता माझ बलियो समर्थन हासिल गरिन् । तर ती आन्दोलनहरूले शहरी मध्यमवर्ग र व्यापारिक समूहको ठूलो हिस्सा उनीबाट टाढा बनायो, उनलाई बंगालबाट लगानी भगाएको आरोप लगाइयो ।  

उनको प्रारम्भिक सफलताले ‘साधारण मानिसको पक्षमा उभिने प्रतिबद्धतालाई अझ बलियो बनायो । सडक व्यापारीहरूसँग बस्ने, जहाँ समस्या त्यहीँ पुग्ने, साधारण पहिरन लगाउने र त्यसलाई आफ्नो पहिचान बनाउने उनको इमेज बन्यो’ लन्डन स्कुल अफ इकोनोमिक्समा मानवशास्त्री मुकुलिका बेनर्जी भन्छिन्।

‘ती प्रारम्भिक संघर्षहरूले उनलाई निर्भीक बनायो, र यदि उनी सर्वसाधारण मानिसहरूको साथमा उभिइन् भने अरूलाई पनि त्यस्तै साहसी बनाउन सकिन्छ भन्ने महसुस गरायो,’ मुकुलिका बनर्जीको भनाइ छ ।

सबैले उनलाई ‘दिदी’, ठूलो दिदी भनेर बोलाउँथे, किनकि उनले आफूलाई त्यही भूमिकामा स्थापित गरेकी थिइन् । ‘हरेकका  लागि ज्यान दिन पनि तयार हुने अत्यन्त संरक्षक व्यक्तित्वको रुपमा उनी स्थापित भइन् ।’

भारतीय राजनीतिका अधिकांश चर्चित महिला नेतृभन्दा फरक हिसाबमा ममता कुनै राजनीतिक वंश वा शक्तिशाली संरक्षकको सहाराबिना उदाएकी थिइन्।

‘कसैले आफ्नै पार्टी गठन गरेर कम्युनिस्टजस्तो अजेय शक्तिलाई चुनौती दिएर ३४ वर्षपछि सत्ताच्युत गरेको र त्यसपछि तीन कार्यकाल शासन गरेको उदाहरण छैन,’ मुकुलिका बनर्जी भन्छिन्।

‘र अन्य महिला नेतृहरूभन्दा फरक, उनले सक्रिय रूपमा अन्य महिलालाई पनि राजनीतिमा अगाडि ल्याइन्,’ उनी थप्छिन् । यस पटको चुनावमा उनको पार्टीले ५२ महिला उम्मेदवार उठाएको थियो।

वर्षौँसम्म बनर्जीको करिश्मा, महिलाहरू र ग्रामीण गरिबका लागि ल्याइएका कल्याणकारी योजनाहरू तथा बंगालको बलियो क्षेत्रीय पहिचानले सत्ताविरोधी भावना, भ्रष्टाचार आरोप र बीजेपीको उदयलाई कमजोर बनाइराखेको थियो ।  

राजनीतिक विश्लेषक प्रोमा रेचौधरी  भन्छिन्, ‘उनको सफलता एउटा सन्तुलनमा आधारित थियोः एकातिर कठोर सडक संघर्ष गर्ने नेतृ र अर्कोतिर आर्थिक असुरक्षामा बाँचिरहेका मानिसलाई राहत दिने सादगीपूर्ण मातृवत् छवि।’

उनका आलोचकहरूले समेत स्वीकार्थे कि बेनर्जीसँग मतदाताको भावनात्मक मनोविज्ञान बुझ्ने असाधारण क्षमता थियो।

तर करिश्माले मात्रै राजनीतिक प्रणालीलाई सधैं टिकाइराख्न सक्दैन।

राजनीतिशास्त्री द्धापायन भटचार्यन कम्युनिस्ट शासनकालको बंगाललाई ‘पार्टी समाज’ भनेर वर्णन गरेका थिए, जहाँ पार्टी ग्रामीण जीवन र जीविकासँग गहिरोसँग गाँसिएको थियो।

बेनर्जीको पार्टीले यही संरचना विरासतमा पायो, तर त्यसलाई परिवर्तन गर्यो। कम्युनिस्टहरूको अनुशासित संगठनभन्दा फरक, टीएमसी बनर्जीको व्यक्तिगत करिश्मा र अधिकारमा केन्द्रित रह्यो।

भट्टाचार्यनले टीएमसीलाई राजनीतिक ‘फ्रेन्चाइज मोडल’ हुदै भएको केही बर्ष अघि लेखेका थिए । स्थानीय दादागिरी  स्थानीय तहका नेताहरूलाई बनर्जीप्रति निष्ठा कायम राखे बापत आफ्नो प्रभाव  र प्रायः व्यापारिक स्वार्थ  विस्तार गर्न दिइएको थियो ।  

‘यो ‘फ्रेन्चाइज मोडल’ले टीएमसीलाई कमजोर बनाएको छ,’ उनले २०२३ मै लेखेका थिए। ‘यसका नेताहरूको अत्यधिक भौतिक लोभले व्यवहारिक स्वार्थलाई नैतिक राजनीतिभन्दा माथि पुर्यायो, जसले जनतासँगको सम्बन्ध कमजोर बनायो।’

बेनर्जीको शासनकालमा बंगाल गहिरिँदो वित्तीय संकटसँग पनि जुधिरहेको थियो। एकातिर राज्यको ऋण बढ्दै गएको थियो भने केन्द्रीय बैंकका अनुसार अर्कोतिर महिलाका लागि ल्याइएका उनका चारवटा कल्याणकारी योजनाले मात्र राज्यको आन्तरिक आम्दानीको झन्डै एक चौथाइ हिस्सा खर्च गरिरहेको थियो।

पदपुर्ति नभएका सरकारी जागिर, जबरजस्ती असुलीमा आधारित भ्रष्टाचार सञ्जाल, शिक्षक भर्ती घोटाला र महिलाको सुरक्षाबारे बढ्दो चिन्ताले सरकारप्रतिको विश्वास झन् कमजोर बनायो।

यो राजनीतिक हारपछि बेनर्जीले फरक र सम्भवतः अझ गम्भीर चुनौती सामना गरिरहेकी छन्ः राजनीतिक अस्तित्व जोगाउने चुनौती।

बंगालको राजनीति लामो समयदेखि पराजित सत्तारुढ दलप्रति निर्दयी रहँदै आएको छ, जहाँ नेता र स्थानीय प्रभावशाली व्यक्तिहरु छिटै नयाँ शक्ति केन्द्रतिर आकर्षित हुन्छन्।

राजनीतिक विश्लेषक सयनतन घोषकाअनुसार टीएमसीका धेरै नेता बीजेपीतर्फ जान सक्छन् ।  केही स्वेच्छाले, केही दबाबमा, जसले ‘पार्टीभित्रै विभाजन’को सम्भावना बढनेछ ।  

बिश्लेषक रे चौधरीका अनुसार टीएमसीमा ‘स्पष्ट वैचारिक एकताको अभाव’ भएकाले हारपछि पार्टी र नेतृ दुवै विशेष रूपमा कमजोर बन्न सक्छन्।

व्यक्तिगत रूपमा पनि दशकौँसम्म शक्तिको केन्द्रमा रहेकी  बेनर्जीका लागि यो परिवर्तन असहज हुन सक्छ। ‘उनका लागि यो कठिन चरण हुनेछ,’ घोष थप्छन्, ‘१९८० को दशकको अन्त्यदेखि चुनाव जित्दै आएकी ममता कार्यालय वा अधिकारबिना हुने अवस्था बंगालको राजनीतिले कमै देखेको छ।’

त्यसो त, ७१ वर्षीया नेतृको राजनीतिक अन्त्य घोषणा गर्न अझै हतार हुन सक्छ। तर पनि यो हार उनले यसअघि पार गरेका संकटभन्दा धेरै गहिरो मोड हुन सक्छ।

मुकुलिका बेनर्जीका अनुसार ममताजस्ता नेताहरू ‘केही हदसम्म समान प्रतिस्पर्धात्मक मैदान’ भएको समयमा फस्टाएका थिए।

तर अहिले “त्यो अवस्था छैन’ उनले मोदी नेतृत्वको बीजेपीको एकदलीय प्रभुत्वतर्फ संकेत गर्दै भनिन्। सोमबारको नतिजा केवल असन्तोषको परिणाम मात्र नभई त्यही असन्तुलनको प्रतिबिम्ब पनि भएको उनको तर्क छ।

यसैगरी, यसले केही  प्रश्नहरू उठाएको छ।

के ममता बेनर्जी फेरि आफूलाई पुनः आविष्कार गर्न सक्लिन् ? सडकमा फर्केर बंगालको कल्पनाशक्ति कब्जा गर्ने पुरानै आक्रोशित बाहिरी नेतृ बन्न सक्लिन ? अथवा  उनी विस्तारै त्यही पुरानो राजनीतिक व्यवस्थाको अवशेष बन्दै जानेछिन्, जसविरुद्ध उनले आफ्नो सम्पूर्ण राजनीतिक जीवन संघर्ष गरिन ?

सोमबार कोलकाताको आफ्नै भवानीपुर सिटबाट बनर्जी पराजित भइन्।

‘अब उनी कहाँ जालिन ? राजनीतिबाहेक उनले अर्को जीवन चिनेकी छैनन्,’ मुकुलिका बनर्जी भन्छिन्।

विश्लेषक रे चौधरीका अनुसार एउटा सम्भावना भनेको उनलाई पहिलोपटक शक्तिशाली बनाएको पुरानै सडक आन्दोलनको राजनीतिमा फर्किनु हुन सक्छ ।  

‘कम्युनिस्ट शासनकालको सडकस्तरको विपक्षी राजनीतिक अनुभव उनमा फेरि फर्किन सक्छ,’ उनी भन्छिन्।

मंगलबार साँझ बनर्जी आफैंले पनि त्यही भूमिकातर्फ फर्किने संकेत दिइन्।

‘म स्वतन्त्र चरा हुँ, अब सामान्य मानिस हुँ। मसँग अब कुर्सी छैन,’ उनले पत्रकारहरूसँग भनिन् । उनले राष्ट्रिय स्तरमा विपक्षी इन्डिया गठबन्धनलाई बलियो बनाउने वाचा गरिन्।

निर्वाचन आयोगले बीजेपीलाई पक्षपोषण गरेको आरोप लगाउँदै र ‘एकदलीय शासन’विरुद्ध चेतावनी दिँदै बनर्जीले जनादेश आफूहरूको पार्टीबाट खोसिएको दाबी गरिन् ।  

‘हामी चुनाव हारेका होइनौं। उनीहरूले जबर्जस्ती खोसेका हुन” उनले भनिन् ।  

राज्यका मुख्य निर्वाचन अधिकारीले भने उनले ‘कुन सन्दर्भमा’ यस्तो आरोप लगाएकी हुन् भन्नेबारे अध्ययन गरिने बताएका छन् । तर दशकौँअघि बंगालले चिनेको पुरानै ममतालाई झल्काउदै उनले थपिन, ‘म जहाँ पनि हुन सक्छु, जहाँ पनि लड्न सक्छु। त्यसैले म सडकमा रहनेछु।’

(बिबिसीमा आधारित)

प्रकाशित: २४ वैशाख २०८३ १८:०८ बिहीबार