अन्तर्राष्ट्रिय

बेलायतको शरण प्रणालीमा ठूलो परिवर्तनको घोषणा

बेलायत सरकारले आप्रवासी बस्ने होटलमा सप्ताहन्तमा भएको विरोध प्रदर्शनपछि आइतबार आफ्नो शरण प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ।  

सरकारले तथाकथित शरणार्थी बसेको होटलको महँगो प्रयोग अन्त्य गर्ने प्रयास गर्दै शरण नपाएका आवेदकको अपील छिटो सुन्न एक नयाँ स्वतन्त्र निकाय स्थापना गर्ने बताएको छ। यो बेलायती नागरिकको ठूलो समूहमा असन्तोषको विषय बनेको छ।  

लेबर सरकारले दक्षिणपूर्वी इङ्ल्यान्डको एक केन्द्रमा होटलमा शरण खोज्नेहरूलाई राख्न रोक लगाउने अदालतको फैसलाविरुद्ध अपिल गर्ने शुक्रबार जनाएको छ।  

अदालतको यो आदेशले देशभरका शरणार्थीलाई राख्ने होटलबाहिर विरोध प्रदर्शन र प्रतिवादको लहरको घोषणा गरेको थियो।  

बेलायतको ब्रिस्टल, एक्सेटर, ट्यामवर्थ, क्यानोक, नुनेटन, लिभरपूल, वेकफिल्ड, न्यूक्यासल, एबरडिन, पर्थ र मध्य लण्डनमा ‘शरण प्रणालीको अन्त्य’ को विरोधमा शनिबार प्रदर्शन गरिएको थियो।  

प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारी समूहलाई तितरबितर पारेको थियो भने अधिकारीले आन्दोलन दबाउने क्रममा प्रदर्शनकारीसँग व्यापक सङ्घर्ष गर्नुपरेको थियो।  

एभोन र समरसेट हेर्ने प्रहरी अधिकारी किथ स्मिथले भने, ‘हाम्रा अधिकारीले वास्तवमै चुनौतीपूर्ण परिस्थितिको सामना गरेका छन्।’ 

उनले भने, ‘अशान्तिका क्षण भए पनि हामी यो भन्न पाउँदा खुसी छौँ। दुई विरोध प्रदर्शन कुनै अप्रिय घटना बिना नै सकिएका छन्।’ 

लिभरपूलको प्रदर्शनमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल व्यवहार गरेको र आक्रमण गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको थियो।  

थप विरोध प्रदर्शनको योजना
दक्षिणपूर्वी इङ्ल्यान्डको एपिङस्थित एक होटलबाहिर १४ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रदर्शनको पछिल्लो लहर सुरु भएको छ।  

आइतबार र सोमबारका लागि थप कार्यक्रमको योजना बनाइएको थियो। आइतबार बेलायतमा साप्ताहिक सार्वजनिक बिदा हो।  

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्ममा ३२ हजार ३४५ शरणार्थीलाई बेलायतका होटलमा अस्थायी रूपमा राखिएको थियो।  

सरकारले प्रारम्भिक शरण दाबीको काम घटाउन सङ्घर्ष गरिरहेको छ। पछिल्लो समय, सरकारको अपिलमा अदालतको सुनुवाइमा भएको ढिलाइले शरण आवास प्रणालीमा दबाबको सबैभन्दा ठूलो कारण बनेको छ।  

गृहमन्त्री यवेट कूपरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘हामीले शरण प्रणालीलाई पूर्ण अराजकताको अवस्थामा विरासतका रूपमा पाएका छौँ। यसलाई सफलतापूर्वक व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो।’  

उनले थपे, ‘हामी शरण होटल समाप्त गर्ने हाम्रो योजनाको भागको रूपमा शरण प्रणालीमा मानिसको सङ्ख्यालाई पर्याप्त रूपमा कम गर्न कटिबद्ध छौँ। हामी अपीललाई पूर्णतया अस्वीकार्य विलम्बसहित पर्खिरहन सक्दैनौँ।’ एएफपी

प्रकाशित: ९ भाद्र २०८२ ०८:११ सोमबार