बिहार विधानसभा चुनाव २०२५ को नतिजा शुक्रबार घोषणा भयो। अपेक्षा गरिएभन्दा धेरै सिट जितेर भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जदयू)को एनडीए गठबन्धनले शानदार जित निकालेको छ।
यसपटक बिहारले आफ्नो सबैभन्दा कान्छो विधायक पनि पाएको छ। अलीनगरबाट भाजपाकी लोक गायिका मैथिली ठाकुरले राष्ट्रिय जनता दल (राजद)का विनोद मिश्राविरुद्ध ११ हजार ७३० मतान्तरले विजयी भइन्। यसरी जुलाई महिनामा २५ वर्ष पुगेकी ठाकुर बिहारको सबैभन्दा कान्छी विधायक बन्न सफल भइन्।
‘यो सपना जस्तै हो। मानिसहरूले मबाट धेरै अपेक्षा राखेका छन्। यो मेरो विधायकको रूपमा पहिलो कार्यकाल हुनेछ, र म मेरो निर्वाचन क्षेत्रको लागि सक्दो गर्नेछु। म मेरा जनताको छोरी जस्तै सेवा गर्नेछु। म अहिले अलिनगर मात्र देख्न सक्छु र म तिनीहरूलाई कसरी काम गर्न सक्छु,’ ठाकुरले भनिन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता अनि मुख्यमन्त्री नितीशकुमारको सुशासनले गर्दा एनडीए गठबन्धनले २०२ सिटसहित बिहार विधानसभामा स्पष्ट बहुमत पाएको छ। अब मुख्यमन्त्री नितीशकुमारकै नेतृत्वमा सरकार बन्ने निश्चित छ।
को हुन् मैथिली ठाकुर?
मैथिली ठाकुर सामाजिक सञ्जालमा चर्चित नाम हो। उनको युट्युबमा ५० लाख प्लस, इन्स्टाग्राममा ६० लाख प्लस र फेसबुकमा एक करोड ४० लाख प्लस फलोअर्स छन्। उनले भजन गायन गर्थिन्। उनलाई भाजपाले जातीय एकताको प्रतीक बनाउने अपेक्षा राखेर मैदानमा उतारेको थियो।
उनले बुबा रमेशबाट हिन्दुस्तानी शास्त्रीय संगीत सिकेकी हुन्। सन् २०२३ मा मधुबनीको ब्रान्ड एम्बेसडर र सन् २०२४ मा मोदी सरकारबाट सांस्कृतिक राजदूत पुरस्कार मिलेको थियो।
मधुबनीको बेनीपट्टीकी उनले ८ वर्षकै उमेरमा दिल्ली संगीत सिक्न सरेकी थिइन्। सन् २०१५ मा दिल्लीको बाल भारती स्कुल र भारती कलेजबाट स्नातकसम्मको अध्ययन पूरा गरिन्। इन्डियन आइडल जुनियरमा दोस्रो राउन्डमा बाहिरिएकी थिइन्। तर ‘आई-जीनियस यंग सिंगिङ स्टार्स’ जितेकी उनी ‘राइजिङ स्टार’मा रनर-अप समेत भइन्।
आमाका अनुसार दिल्लीमा १७ पटक घर सरेका थिए। ‘हामीले एउटा कोठा मात्र किन्न सक्यौं। रियाजले बाधा पुर्याउने थियो,’ भारतीले भनिन्। बच्चाहरू लोकप्रिय भएपछि सन् २०१७ मा घर र सन् २०२० मा अपार्टमेन्ट किनेका थिए। एजेन्सी
प्रकाशित: २९ कार्तिक २०८२ १३:०७ शनिबार