अन्तर्राष्ट्रिय

मुटुको समस्या बढेपछि मादुरोकी पत्नीले घरमै नजरबन्द मागिन्

फाइल तस्बिर

भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोकी पत्नी तथा पूर्वप्रथम महिला सिलिया फ्लोरेस डे मादुरोले मुटुको अवस्था बिग्रिँदै गएको भन्दै अमेरिकी हिरासतबाट रिहा गरेर घरमै नजरबन्दमा राख्न माग गरेकी छिन्।

बुधबार अदालतमा दिएको निवेदनमा उनका वकिलले फ्लोरेसलाई न्यूयोर्कको म्यानहट्टनस्थित निवासमा मुद्दाको टुंगो नलागेसम्म घरमै नजरबन्दमा राख्न अनुमति दिन आग्रह गरेका हुन्। उनका अनुसार जनवरी ३ मा भेनेजुएलाबाट पक्राउ गरेर अमेरिका ल्याएपछि उनको स्वास्थ्य बिग्रिएको छ।

‘अमेरिकी सैन्य कारबाहीअघि फ्लोरेस स्वस्थ थिइन्। मुटुको समस्या नियन्त्रण गर्न उनले महिनामा एकपटक सुई लगाउँथिन्, तर नियमित औषधि सेवन गर्दिन थिइन्,’ कानुनी निवेदनमा भनिएको छ।

अहिले उनलाई चार प्रकारका औषधि दिइएको र सम्भावित हृदयघातका लागि नाइट्रोग्लिसरीन साथमा राख्नुपर्ने अवस्था रहेको वकिलले बताएका छन्। वकिलका अनुसार बाहिरी चिकित्सकसँग परामर्श गरेपछि जुलाई २९ मा अमेरिकी हिरासतमा रहँदा उनलाई सामान्य हृदयघात भएको हुन सक्ने देखिएको छ।

फ्लोरेसलाई मुटुको मिट्रल भल्भसम्बन्धी समस्या छ। उनका वकिलका अनुसार हिरासतमा राखेपछि उनले आवश्यक मासिक सुईसमेत पाएकी छैनन्। चिकित्सकले मुटुसम्बन्धी शल्यक्रिया गर्न सुझाव दिएको पनि उनीहरूले बताएका छन्।

उनका वकिलहरूले हिरासत केन्द्रमा उपचारपछि आवश्यक आराम र स्वास्थ्य सुधारका लागि उपयुक्त वातावरण नभएको भन्दै म्यानहट्टनस्थित घरमा सार्न माग गरेका हुन्। घरमै नजरबन्दमा राखिए २४ घण्टा सशस्त्र निगरानी गरिने, भेटघाट सीमित गरिने तथा घर र फोन कलको समेत निगरानी गरिने प्रस्ताव छ।

६९ वर्षीया फ्लोरेस र ६३ वर्षीय मादुरोमाथि अमेरिकामा कोकिन तस्करीको षड्यन्त्रमा संलग्न रहेको आरोप छ। दुवैले आरोप अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको बताएका छन्।

उनीहरूको मुद्दा आगामी जुनमा चल्ने तय भएको छ। न्यायाधीश एल्भिन के हेलरस्टाइनले फ्लोरेसको घरमै नजरबन्दसम्बन्धी निवेदनमा भने अहिलेसम्म निर्णय गरेका छैनन्। एजेन्सीको सहयोगमा

प्रकाशित: २६ भाद्र २०८३ ०८:२४ शुक्रबार