फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले अमेरिकाबाट ‘नयाँ ट्यारिफहरू निरन्तर बढाइँदै जानु’ मौलिक रूपमा स्वीकार्य नहुने बताएका छन्। म्याक्रोंका अनुसार, जब ट्यारिफलाई ‘क्षेत्रीय सार्वभौमिकतामाथि दबाब सिर्जना गर्ने हतियार’ का रूपमा प्रयोग गरिन्छ, तब यो विषय अझ गम्भीर बन्छ।
उनी दावोसमा आयोजित विश्व नेताहरूको मञ्चमा बोलिरहेका थिए। यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो, जब केही दिनअघि डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने योजनाको विरोध गर्ने देशहरूमाथि नयाँ ट्यारिफ लगाउने घोषणा गरेका थिए।
दावोसमै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि ग्रीनल्यान्डप्रति ऐक्यबद्धता जनाउँदै भने, ‘हामी ग्रीनल्यान्ड र डेनमार्कको पक्षमा दृढताका साथ उभिएका छौँ।’
यसअघि ट्रम्पले आफ्नो योजनाबाट ‘पछाडि हट्ने कुनै प्रश्नै छैन’ भन्दै दाबी गरेका थिए कि ‘ग्रीनल्यान्ड राष्ट्रिय तथा विश्वव्यापी सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण छ।’
अमेरिका–युरोपेली संघ व्यापार सम्झौता रद्द हुने?
बीबीसीका बिजनेस रिपोर्टर जोनाथन जोसेफ्सका अनुसार, युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिनजिकका स्रोतहरूले युरोपेली संघ र अमेरिकाबीच गत जुलाईमा तय भएको व्यापार सम्झौता निलम्बन हुने लगभग निश्चित रहेको बताएका छन्।
यो निलम्बनको घोषणा भोलि दिउँसो फ्रान्सको स्ट्रासबर्गमा गरिने सम्भावना छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनबीच उक्त सम्झौता जुलाईमा स्कटल्याण्डस्थित ट्रम्पको गल्फ कोर्समा भएको थियो। एजेन्सी
प्रकाशित: ७ माघ २०८२ ०६:५२ बुधबार