लेबनानमा जारी इजरायली सैन्य कारबाही र सीमावर्ती भिडन्तले देशलाई गम्भीर मानवीय संकटमा धकेलेको छ।
लेबनानी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मार्च २ देखि सुरु भएको यस युद्धमा हालसम्म एक हजार २९ को ज्यान गइसकेको छ। मन्त्रालयले दुई हजार ७८६ व्यक्तिहरू घाइते भएको जानकारी दिएको छ।
मृत्यु हुने र घाइते हुनेहरूमा ठुलो संख्यामा सर्वसाधारण, विशेष गरी महिला, बालबालिका र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन्। हवाई आक्रमण र जमिनी भिडन्त तीव्र बन्दै गएकाले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी सरकारी अधिकारीहरूले दिएका छन्।
इजरायली सेनाले दक्षिणी लेबनानको कासिमियाह पुलमा विस्फोट गराएको छ। लेबनानी राष्ट्रपति जोसेफ आउनले यो आक्रमणलाई जमिन आक्रमणको पूर्वसूचना भनेका छन्।
यस भीषण आक्रमणले लेबनानमा आधुनिक इतिहासकै सबैभन्दा ठुलो विस्थापन पनि निम्त्याएको छ। सरकारी तथ्यांक अनुसार देशभरिबाट १० लाखभन्दा बढी मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्।
यो संख्या लेबनानको कुल जनसंख्याको करिब पाँच भागको एक भाग हो। विस्थापित हुनेहरूको संख्या पछिल्लो दुई हप्तामा निकै तीव्र गतिमा बढेको छ, जसले गर्दा देशका सुरक्षित मानिएका क्षेत्रहरूमा पनि चाप बढेको छ।
विपद् व्यवस्थापन एकाइले हाल करिब एक लाख ३४ हजार ३७७ जना विस्थापितहरू ६२० भन्दा बढी सरकारी राहत शिविर र सामूहिक आश्रयस्थलहरूमा बसिरहेको उल्लेख गरेको छ। जानकारी अनुसार धेरैजसो शिविरहरू आफ्नो क्षमताभन्दा बढी भरिएका छन्।
शिविरमा खाद्यान्न, औषधि तथा आधारभूत आवश्यकताका सामग्रीहरूको चरम अभाव देखिएको छ। आश्रय नपाएका हजारौँ परिवारहरू सडक, सार्वजनिक पार्क र सवारी साधनहरूमा रात बिताउन बाध्य छन्।
अर्कोतर्फ, इजरायली सञ्चारमाध्यमहरूले दक्षिण लेबनानमा जारी सैन्य अपरेसनका क्रममा आफ्ना चार सैनिकहरू सामान्य घाइते भएको जनाएका छन्। यसबाहेक, उत्तरी इजरायलमा भएको छुट्टै ड्रोन आक्रमण र एउटा दुर्घटनामा अन्य तीन सैनिकहरू घाइते भएका छन्।
घाइते सातै जना सैनिकहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। एजेन्सी
प्रकाशित: ९ चैत्र २०८२ ०७:१७ सोमबार