अन्तर्राष्ट्रिय

चीनमा पहिरो : ५५५ पर्यटकसहित सबै प्रभावितलाई सुरक्षित स्थानमा सारियो

तस्बिर : सिन्हवा

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्यारोङ काउन्टीमा गएको पहिरोपछि प्रभावित सबै बासिन्दा र फसेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। 

स्थानीय अधिकारीका अनुसार पहिरो प्रभावित ४९९ गाउँले र निर्माण कामदारलाई सुरक्षित स्थानमा पुनर्स्थापित गरिएको छ भने ५५५ पर्यटकलाई पनि उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। अहिले कुनै पनि पर्यटक अलपत्र नरहेको अधिकारीहरूले बताएका छन्। पहिरोपछि स्थानीय प्रशासनले प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै उनीहरूका लागि अस्थायी आश्रयको व्यवस्था गरेको छ। विस्थापितहरूलाई खाना, दैनिक आवश्यक सामग्री र स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। स्थानीय सार्वजनिक सुरक्षा अधिकारी र उद्धार टोलीले विभिन्न स्थानमा खोज तथा उद्धार एवं राहतको कामलाई निरन्तरता दिएका छन्।

उद्धार कार्यमा नागरिक उड्डयन अधिकारीसमेत सहभागी भएका छन्। स्थानीय समय अनुसार बिहीबार दिउँसो ३:०० बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पठाइएको थियो। उनीहरूसँगै २४ टन उद्धार उपकरण, दैनिक आवश्यक सामग्री तथा चिकित्सा सामग्री पनि प्रभावित क्षेत्रमा पुर्‍याइएको बताइएको छ। यी सामग्रीले आपतकालीन उद्धार र प्रभावित बासिन्दाको व्यवस्थापनमा सहयोग पुगेको अधिकारीहरूले बताएका छन्।

अधिकारीका अनुसार ग्यारोङमा सार्वजनिक सुरक्षा निकायका २६ उद्धारकर्मीको पहिलो टोलीले टाउनसिप सरकारी परिसरमा २४ वटा आपत्कालीन पाल स्थापना गरेको थियो। उक्त टोलीले पहिरो प्रभावित ३२० भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारेको थियो। त्यसपछि थप प्रभावित बासिन्दालाई समेत सुरक्षित स्थानमा पुनर्स्थापित गरिएको बताइएको छ।

बुधबार बिहान सिजाङको ग्यारोङ काउन्टीस्थित ग्यारोङ बन्दरगाहमा पहिरो गएको थियो। पहिरोमा तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्। दुई स्थानीय गाउँलेको भने उद्धार गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र विस्थापितको व्यवस्थापनको काम जारी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। एजेन्सी

प्रकाशित: १२ भाद्र २०८३ ०७:५२ शुक्रबार