भारतको सिक्किमस्थित नाम्ची जिल्लामा सोमबार गएको पहिरोका कारण सुरुङको प्रवेशद्वार अवरुद्ध हुँदा ठूलो दुर्घटना भएको छ।
मामरिङमा रहेको समरदुङ सुरुङमा निर्माण कार्य चलिरहेको बेला आएको पहिरोमा परी २७ जना कामदार भित्रै फसेका थिए। तीमध्ये सात जनाको मृत्यु भएको छ भने बाँकी २० जना अझै सुरुङभित्रै फसेका छन्। दैनिक भास्करका अनुसार सुरुङमा फसेका कामदारहरूको संख्या अझै यकिन हुन बाँकी रहेको छ। यो संख्या घटबढ हुन सक्ने जनाइएको छ।
सुरुङभित्र मिथेन ग्यास चुहावट भएको आशंका गरिएको छ, जसले गर्दा उद्धार तथा राहत कार्यमा गम्भीर बाधा पुगेको छ। सुरुङभित्र प्रवेश गरेका धेरैजसो उद्धारकर्ताहरूलाई रिंगटा लागेको थियो। केही बेहोस समेत भएका थिए। अधिकारीहरूका अनुसार मिथेन ग्यास, सीमित ठाउँमा हुनु र सुरुङभित्रको अन्धकारले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ। अहिले सबै कामदारलाई सकुशल बाहिर निकाल्नु नै प्रशासनको पहिलो प्राथमिकता रहेको छ।
दुर्घटनालगत्तै राष्ट्रिय विपद् मोचन बल (एनडीआरएफ), राज्य विपद् मोचन बल (एसडीआरएफ), जिल्ला प्रहरी र दमकलको टोली घटनास्थलमा परिचालन गरिएको छ। साथै, पश्चिम बंगालबाट ग्यास प्रतिरोधी उपकरणयुक्त विशेष उद्धार टोली पनि झिकाई उद्धार कार्य अघि बढाइएको छ।
सुरुङभित्र पटेल इन्जिनियरिङ कम्पनीका २१ र एनएचपीसीका ६ जनासहित कुल २७ जना कामदार फसेको आशंका गरिएको छ। पटेल इन्जिनियरिङ कम्पनीले टिस्टा चरण-६ जलविद्युत परियोजनाअन्तर्गत यो सुरुङ निर्माण गरिरहेको थियो।
प्रकाशित: ५ श्रावण २०८३ १०:१८ मंगलबार