अन्तर्राष्ट्रिय

पाँच हजार टनको युद्धपोतबाट किमले गरे क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ नौसेना विनाशक जहाजबाट ‘रणनीतिक क्रुज क्षेप्यास्त्र’ को परीक्षण निरीक्षण गरेका छन्।

उनले पाँच हजार टनको ‘चो ह्योन’ नामक युद्धपोतबाट समुद्रबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र प्रक्षेपणको परीक्षण गरेका हुन्। किमले यो परीक्षणलाई नयाँ युद्धपोतको क्षमताको मुख्य तत्व र ‘समुद्री रक्षाको नयाँ प्रतीक’ भएको बताएका छन्।

आफ्नो नौसेनाले आणविक हतियार अपनाउने काममा प्रगति गरिरहेको बताउँदै किमले भने, ‘पानी मुनि र माथिबाट आक्रमण गर्ने हाम्रो नौसेनाको सेना द्रुत गतिमा बढ्नेछ। आणविक हतियारले सुसज्जित नौसेनाको कार्य सन्तोषजनक प्रगति भइरहेको छ।’ उनले थपे, ‘यी सबै सफलताहरूले हाम्रो समुद्री सार्वभौमिकताको रक्षामा आमूल परिवर्तनको प्रतिनिधित्व गर्दछ, जुन हामीले आधा शताब्दीदेखि हासिल गर्न सकेका छैनौँ।’

मंगलवार र बुधवार सिपयार्डको भ्रमण गर्दा किमले निर्माणाधीन विनाशक जहाजहरूको निरीक्षण गरेका हुन्। मे २०२५ मा चोङजिन सिपयार्डमा दोस्रो विनाशक जहाज पल्टिँदा उत्तर कोरियाको नौसेना आधुनिकीकरण कार्यक्रममा ठुलो धक्का लागेको थियो। त्यति बेला किमले सो असफलतालाई ‘आपराधिक कार्य’ को रूपमा चित्रण गर्दै राज्य संस्थाहरूको ‘पूर्ण लापरवाही’ लाई दोष दिएका थिए।

यस हप्ताको क्षेप्यास्त्र परीक्षण किमले फेब्रुअरीको अन्त्यमा जीवनस्तर उकास्ने वाचा गरे लगत्तै भएको हो। उनले सत्तारुढ दलले ‘आर्थिक निर्माण र जनताको जीवनस्तर बढाउने भारी र जरुरी ऐतिहासिक कार्यहरूको सामना गरिरहेको’ बताएका छन्। उनले थपे, ‘यसका लागि हामीले एक क्षण पनि स्थिरता नदिई अझ सक्रिय र निरन्तर संघर्ष गर्नु आवश्यक छ।’

सन् २०११ देखि सत्तामा रहेका किमले सेनालाई मुख्य प्राथमिकतामा राख्दै आएका छन्। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको दबाब रोक्न सैन्य रूपमा बलियो हुनुपर्ने उत्तर कोरियाको दाबी छ। एजेन्सी 

प्रकाशित: २१ फाल्गुन २०८२ १२:०३ बिहीबार