इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मुस्लिम राष्ट्रहरूलाई एकजुट हुन र ‘वास्तविक शत्रु’ पहिचान गरी त्यसको सामना गर्न आह्वान गरेका छन्।
आइतबार जारी लिखित वक्तव्यमा उनले मुस्लिम समुदायभित्र विभाजन सिर्जना गर्ने प्रयास भइरहेको बताएका हुन्। उनले अमेरिका र इजरायलतर्फ संकेत गर्दै मुस्लिमहरूबिच रहेका जातीय, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक तथा भौगोलिक भिन्नतालाई विवादको कारण बनाउने प्रयास भइरहेको चेतावनी दिएका छन्।
खामेनीका अनुसार मुस्लिम समुदायलाई विभाजित र कमजोर बनाएर आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अपनाइएको छ।
‘उनीहरू इस्लामिक उम्मालाई विभाजित गर्न र यसको शक्ति कमजोर बनाउन खोजिरहेका छन्। त्यसपछि आफ्नो प्रभुत्व थोप्न उपयुक्त समयको पर्खाइमा छन्,’ उनले भनेका छन्।
खामेनीले मुस्लिम राष्ट्रहरूलाई आपसी विभाजन बढाउने गतिविधिबाट जोगिन र एकता बलियो बनाउन आग्रह गरेका छन्।
अल जजीराका अनुसार प्यालेस्टिनी अवस्थाको उदाहरण दिँदै उनले मुस्लिम राष्ट्रहरू एकजुट भएको भए प्यालेस्टिनी जनता अहिले जस्तै असुरक्षित अवस्थामा हुने थिए कि थिएनन् भन्ने प्रश्न गरेका छन्।
‘यदि मुस्लिमहरू एकताबद्ध भएका भए र आफ्नो शक्ति एक ठाउँमा केन्द्रित गरेका भए, के प्यालेस्टिनी राष्ट्र यति रक्षाहीन हुने थियो र कब्जाकर्ताहरूको दमन तथा अपराध सहनुपर्थ्यो?’ उनले प्रश्न गरेका छन्।
खामेनीले फारसको खाडी आसपासका राष्ट्रहरूको अवस्थालाई उल्लेख गर्दै मुस्लिम देशहरू एकजुट भएको भए बाह्य शक्तिले उनीहरूको भूमि र सम्पत्तिमाथि आँखा लगाउने साहस गर्न नसक्ने बताएका छन्।
सोही सन्देशमा उनले मुस्लिम राष्ट्रका प्रमुखहरूलाई ‘आफ्नो वास्तविक शत्रुलाई चिन्न, उसका योजना बुझ्न र त्यसको सामना गर्न’ आग्रह गरेका छन्।
उनले अमेरिका र इजरायललाई मुस्लिम राष्ट्र बिचको एकता र मित्रताका शत्रुका रूपमा चित्रण गरेका छन्।
‘अमेरिकाका आपराधिक शासक र नक्कली जियोनिस्ट शासन यस एकता र मित्रताका शत्रु हुन्,’ उनले भनेका छन्।
खामेनीले अमेरिका र इजरायल इरानका मात्र नभई पश्चिम एसिया र उत्तर अफ्रिकासहित सम्पूर्ण मुस्लिम समुदायका शत्रु रहेको दाबी गरेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघाचीले पनि आइतबार मुस्लिम देशहरूबिचको एकता र सहकार्य बलियो बनाउनुपर्ने बताएका छन्।
खामेनीको यो सन्देश अमेरिका र इरानबिच तनाव जारी रहेका बेला आएको हो। अमेरिका तथा अन्य देशले लगाएका प्रतिबन्धका कारण इरानमाथि आर्थिक दबाब बढिरहेको छ। पछिल्लो रिपोर्टअनुसार मुद्रास्फीति र व्यापारमा आएको गिरावटले इरानको आर्थिक अवस्था थप चुनौतीपूर्ण बनेको छ।
प्रकाशित: १४ भाद्र २०८३ १२:५८ आइतबार