इरानका सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनी देशको नयाँ सर्वोच्च नेतामा निर्वाचित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८८ जना मौलवीहरूको सभाले उनलाई चयन गरेको हो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा बुवा अली खामेनी मारिएपछि यो नयाँ नियुक्ति भएको हो।
सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेका थिए। इजरायलले मंगलबार कोम सहरस्थित विज्ञ सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया रोक्ने प्रयास गरे पनि त्यहाँ कोही उपस्थित नभएकाले मानवीय क्षति भने भएन। भवन भने पूर्ण रूपमा ध्वस्त भएको छ।
यसैबिच, दिवंगत नेता खामेनीको अन्त्येष्टि मशादस्थित इमाम रेजाको दरगाह नजिकै गरिने इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन्। अन्त्येष्टि पछि मात्र नयाँ नेताको निर्वाचनको औपचारिक घोषणा हुने बताइएको छ।
इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार पछिल्लो चार दिनमा इरानका १५३ सहरका ५०४ स्थानमा एक हजार ३९ पटक आक्रमण भएका छन्। यी हमलामा परेर ७८७ जनाले ज्यान गुमाएका छन्। अमेरिकाले पनि ६ जना सैनिक मारिएको जानकारी दिएको छ। जारी युद्धमा अमेरिका र इजरायलले इरानमा हमला गरिरहेका छन्।
जवाफमा इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र दूतावासलक्षित आक्रमण जारी राखेको छ। इरानले इजरायलमाथि पनि हमला गरिरहेको छ। तेहरानले गरेको आक्रमणमा दर्जनौंले ज्यान गुमाएका छन् भने सयौंको संख्यामा घाइते छन्। इरानले स्ट्रेट अफ होर्मुज पनि पूर्ण रुपमा बन्द गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल फोर्सका कमान्डरले एक भिडियो सन्देश जारी गर्दै युद्ध सुरु भएदेखि १७ इरानी सैन्य जहाज र एउटा पनडुब्बी नष्ट गरेको दाबी गरेको छ। हाल अरब खाडी, स्ट्रेट अफ होर्मुज वा ओमान स्ट्रेटमा कुनै पनि इरानी जहाज बाँकी नरहेको उसले बताएको छ। इरानले पनि हालसम्म ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र २००० ड्रोन प्रहार गरिसकेको छ। एजेन्सी
प्रकाशित: २० फाल्गुन २०८२ ०७:३६ बुधबार