इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिको भव्य तयारी गरिरहेको छ। ३६ वर्ष देशको नेतृत्व सम्हालेका खामेनीको गत फेब्रुअरीमा अमेरिका-इजरायलको आक्रमणमा परी निधन भएको थियो।
उनको अन्त्येष्टिमा लाखौं शोक मनाउनेहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। शुक्रबार बिहानैदेखि तेहरानका सडकमा सेनाका सवारी साधन, प्रहरीको बाक्लो उपस्थिति र खामेनीको तस्बिरसहितका पोस्टरहरू देखिएका छन्। इरानी अधिकारीहरूले यस अन्त्येष्टिलाई राष्ट्रिय एकता, शक्ति र लचिलोपनको प्रदर्शनको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेका छन्।
अन्त्येष्टि कार्यक्रमको तालिकाअनुसार शनिबारदेखि सोमबारसम्म तेहरानमा छ दिने समारोह सुरु हुनेछ। खामेनीको पार्थिव शरीर सार्वजनिक दर्शनका लागि ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राखिनेछ र सोमबार राजधानीका सडकमा प्रमुख अन्त्येष्टि जुलुस निस्कनेछ। त्यसपछि मंगलबार जुलुस पवित्र शहर कोम पुग्नेछ भने बुधबार इरान बाहिर इराकका पवित्र शहरहरू नजफ र कार्बलामा समारोह हुनेछ। अन्तिम संस्कारका लागि बिहीबार खामेनीको शव उनको गृहनगर मशहद पुर्याइनेछ। प्रहरीले यस अवसरमा एक करोड ५० लाखदेखि दुई करोड मानिस सहभागी हुन सक्ने अनुमान गरेको छ। यस्तै, ३० भन्दा बढी देशका नेता र प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ।
अल जजीराका अनुसार सुरक्षाका कारण शनिबारदेखि सोमबारसम्म सार्वजनिक र निजी कार्यालयहरू बन्द रहनेछन् भने राजधानी तेहरानको हवाई क्षेत्र आंशिक रूपमा बन्द गरिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का नयाँ नेता ब्रिगेडियर जनरल अहमद वाहिदीले पनि समारोहमा भाग लिएका छन्, जो महिनौंपछि सार्वजनिक रूपमा देखिएका हुन्। विश्लेषकहरूले उनलाई इरानको धर्मगुरु प्रणालीमा एक ‘सम्झौताहीन र कट्टर विश्वासी’ को रूपमा वर्णन गरेका छन्।
यता, अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायली लबिङ समूहहरूले अमेरिकी राजनीति र निर्वाचनमा पारेको प्रभावको कडा शब्दमा निन्दा गरेका छन्। उनले भनेका छन्, ‘एआईपीएसी जस्ता अर्बपति-वित्त पोषित सुपर पीएसीहरूले लोकतन्त्रलाई कमजोर पार्न र काम गर्ने मानिसहरूको साथमा उभिने उम्मेदवारहरूलाई पराजित गर्न असीमित रकम खर्च गरिरहेका छन्।’
अमेरिकी मिडियाका अनुसार इजरायलले यसअघि इरानसँगको वार्ताका क्रममा मुख्य इरानी वार्ताकारहरू (विदेशमन्त्री अब्बास अराघची र सभामुख मोहम्मद बाकर गालिबाफ) को हत्या गर्ने योजना बनाएको थियो। यसैबीच, इरानको सैन्य कमान्डले हर्मुजको जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजहरूलाई इरानी सेनाले तोकेको मार्ग पालना गर्न वा ‘बलियो प्रतिक्रिया’ सामना गर्न चेतावनी दिएको छ।
प्रकाशित: १९ असार २०८३ १३:२७ शुक्रबार