अन्तर्राष्ट्रिय

२४ वर्षकी आइकोलाई सिंहासन नदिए जापानको राजतन्त्र सकिन्छ !

जापानकी राजकुमारी आइकोको बढ्दो लोकप्रियताले शाही उत्तराधिकारमा पुरुष मात्र हुने कुरालाई चुनौती दिएको छ। 

नागासाकी भ्रमणका क्रममा सडकमा उनको नाम चिच्याउने भीडले उनका बुबा सम्राट् नारुहितो र आमा महारानी मासाकोको स्वागतलाई नै ओझेलमा पारिदियो। 

धेरैले उनलाई नै भावी सम्राज्ञी (महारानी) बनाउन पुरुष मात्र उत्तराधिकार हुन पाउने कानुनमा परिवर्तन गर्नुपर्ने माग राखेका छन्।

आज (सोमबार) २४ वर्ष पुगेकी आइकोका समर्थकहरूले यो कानुन परिवर्तन नगरेमा घट्दो शाही परिवारको कारण राजतन्त्र नै लोप हुने चिन्ता व्यक्त गरिरहेका छन्। 

नारुहितोका दुई जना सम्भावित पुरुष उत्तराधिकारी मात्र छन्। यसमा उनका ६० वर्षीय कान्छा भाइ युवराज अकिशिनो, र अकिशिनोका १९ वर्षीय छोरा राजकुमार हिसाहितो रहेका छन्। पूर्व सम्राट अकिहितोका कान्छा भाइ सिंहासनको तेस्रो उत्तराधिकारी राजकुमार हिताची ९० वर्षका छन्। 

यी दुईबाहेक अन्य कुनै पुरुष उत्तराधिकारी नभए राजशाही नै संकटमा पर्ने बुझाइ धेरैमा पाइन्छ। आइकोले सन् २०२१ मा वयस्क राजपरिवारको रूपमा प्रवेश गरेदेखि नै जनताबाट व्यापक समर्थन प्राप्त गर्दै आएकी छिन्। लाओसको एकल विदेश भ्रमण र नागासाकी तथा ओकिनावाका भ्रमणहरूले उनको लोकप्रियता थप बढाएको छ। 

नागासाकीकी ८२ वर्षीया परमाणु बम पीडित सेत्सुको मात्सुओ भन्छिन्, ‘म सधैँ राजकुमारी आइकोलाई राज्याभिषेक गराउन चाहन्छु। मलाई उनको बारेमा सबै कुरा मन पर्छ, विशेष गरी उनको मुस्कान...धेरै सान्त्वनादायी।’

त्यस्तै, नागासाकीकी ५८ वर्षीया कार्यालय कर्मचारी मारी माइहिराले भनिन्, ‘अब हामी उनलाई भावी महारानीका रूपमा हेर्न चाहन्छौँ।’

आइकोको लोकप्रियताले सांसदहरूमाथि कानुन परिवर्तनको दबाब बढाएको छ। 

कार्टुनिस्ट योशिनोरी कोबायाशीले आइकोलाई सम्राज्ञी बनाउन कानुनी परिवर्तन आवश्यक रहेको विषयमा रमाइला पुस्तकहरू प्रकाशित गरेका छन्। धेरै समर्थकहरूले ती पुस्तकहरू सांसदहरूलाई पठाएर समर्थन जुटाउन थालेका छन्। 

कतिपयले युट्युब च्यानल र पर्चाहरूमार्फत यो मुद्दामा जनमत बढाइरहेका छन्।

६२ वर्षीया इकुको यामाजाकीले सामाजिक सञ्जालमार्फत पहिलो सन्तानलाई लिंग नभई उत्तराधिकारी बनाउनुपर्ने पक्षमा वकालत गरिरहेकी छिन्। उनले भनिन्, ‘उत्तराधिकार प्रणालीले लैगिंक मुद्दाहरूको बारेमा जापानी मानसिकतालाई व्यक्त गर्दछ। मलाई आशा छ कि महिला सम्राट् भएमा जापानमा महिलाको स्थितिमा नाटकीय रूपमा सुधार हुनेछ।’

सन् १९४७ को इम्पेरियल हाउस कानुनले पुरुष वंशको उत्तराधिकारलाई मात्र मान्यता दिन्छ। त्यसैले महिला राजपरिवारका सदस्यहरूले सर्वसाधारणसँग विवाह गरेमा शाही हैसियत गुमाउनुपर्छ। तीव्र गतिमा घट्दै गएको शाही परिवारमा १६ सदस्यहरू छन्, जुन तीन दशक अघि ३० थिए। सबै वयस्क छन्।

यसअघि सन् २००५ मा महिला सम्राज्ञीलाई अनुमति दिने प्रस्ताव गरिएको थियो। तर हिसाहितोको जन्मपछि त्यो प्रस्ताव खारेज भयो। सन् २०२२ मा एक विशेषज्ञ समितिले पुरुष उत्तराधिकार कायम राख्न सुझाव दियो। तर समर्थक र केही विज्ञहरूले यो प्रणालीले राजतन्त्रको अस्तित्व नै संकटमा पार्ने तर्क गर्दै आएका छन्।

नागोया विश्वविद्यालयका प्राध्यापक हिदेया कावानिशीले भनिन्, ‘परिस्थिति पहिले नै नाजुक छ।’ उत्तराधिकार पूर्ण रूपमा हिसाहितो र उनका सम्भावित सन्तानमा निर्भर रहनेछ। यस्तो अवस्थाले सम्भावित उत्तराधिकारीमाथि ठुलो दबाब सिर्जना गर्ने उनी बताउँछिन्।

जापानको इतिहासमा आठ जना महिला सम्राज्ञी भइसकेका छन्। तर सन् १८८९ को कानुनले पुरुष उत्तराधिकारलाई मात्र मान्यता दिएको छ। समर्थकहरूले यो प्रणाली परिवर्तन गरी आइको जस्ता लोकप्रिय उत्तराधिकारीलाई अवसर दिनुपर्ने पक्षमा दबाब बढाइरहेका छन्। एजेन्सी

प्रकाशित: १५ मंसिर २०८२ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App