जापानमा सन् २०२५ मा ७६ हजार ९४१ जना आफ्नै घरमा एक्लै मृत फेला परेका छन्।
राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) को तथ्यांकअनुसार उनीहरूमध्ये २२ हजार २२२ जनाको शव मृत्यु भएको आठ दिन वा सोभन्दा बढी समयपछि फेला परेको थियो। यसले जापानमा बढ्दो एक्लोपन र सामाजिक सम्बन्ध कमजोर हुँदै गएको अवस्थालाई उजागर गरेको छ।
मृतकहरूमध्ये ५८ हजार ९१९ जना ६५ वर्ष वा सोभन्दा माथिका थिए। यो घरमा एक्लै मृत फेला परेका कुल व्यक्तिको ७६.६ प्रतिशत हो। वृद्ध उमेर समूहमा एक्लै मृत्यु हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ८७५ ले बढेको छ। तथ्यांकले वृद्धवृद्धा, विशेषगरी एक्लै बस्ने पुरुषहरू सामाजिक सम्पर्कबाट टाढिँदै गएको देखायो।
एनपीएका अनुसार २८ हजार ३९८ जनाको शव मृत्यु भएको अनुमान गरिएको दिन वा भोलिपल्ट फेला परेको थियो। त्यस्तै, १५ हजार ८६५ जनाको शव दुईदेखि तीन दिनभित्र र १० हजार ४५६ जनाको शव चारदेखि सात दिनभित्र भेटिएको थियो। तर सात हजार १४८ जनाको शव फेला पर्न एक महिनाभन्दा बढी समय लागेको थियो। तीमध्ये २०८ जनाको शव एक वर्षभन्दा बढी समयपछि फेला परेको थियो।
लामो समयसम्म कसैको सम्पर्कमा नआई मृत्यु हुने घटनामा पुरुषको संख्या महिलाको तुलनामा करिब ३.८ गुणा बढी रहेको तथ्यांकले देखाएको छ। जापानमा विवाहदर घट्नु, वृद्ध जनसंख्या बढ्नु र एक्लै बस्ने परिवारको संख्या बढ्नु यस समस्याका प्रमुख कारण मानिएका छन्।
यस समस्यालाई सम्बोधन गर्न जापानमा स्थानीय तहले एक्लै बस्ने व्यक्तिको अवस्था बुझ्ने विभिन्न उपाय अपनाउन थालेका छन्। घरमा बिजुली र पानीको प्रयोग निगरानी गर्ने सेन्सर तथा हुलाक सेवाका कर्मचारीमार्फत नियमित भेटघाट गर्ने व्यवस्था त्यसका उदाहरण हुन्। सरकारले पनि लामो समयसम्म कसैको सम्पर्कमा नआई मृत्यु हुने अवस्थालाई अध्ययन गर्न थालेको छ।
जापानको यो तथ्यांकले एक्लै बस्ने व्यक्तिको संख्या बढ्दै जाँदा उनीहरूको नियमित अवस्था बुझ्ने र सामुदायिक सहयोग उपलब्ध गराउने व्यवस्था कति आवश्यक छ भन्ने प्रश्न उठाएको छ। विशेषगरी वृद्धवृद्धालाई सामाजिक सम्बन्ध र आवश्यक सेवासँग जोडिराख्नु अहिले जापानको प्रमुख सामाजिक चुनौतीमध्ये एक बनेको छ।
प्रकाशित: ९ कार्तिक २०८३ ०८:५० सोमबार