अन्तर्राष्ट्रिय

जापानमा एक महिनामा हुने वर्षा एकै दिन : चार जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

पूर्वी जापानमा बिहीबार परेको भारी वर्षाका कारण ठूलो क्षति भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार लगातारको वर्षाका कारण चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। जापानको मौसम विज्ञान विभागले टोकियो नजिकैको चिबा प्रिफेक्चरका धेरै नगरपालिकाहरूमा मुसलधारे वर्षाको खतरा रहेको भन्दै 'लेभल ५' को चेतावनी जारी गरेको थियो। यसबाहेक चिबा र इचिहारा लगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन भनिएको थियो। यद्यपि, शुक्रबार बिहानसम्म ती सबै चेतावनीहरूलाई कम गरिएको छ।

मौसम विभागका अनुसार पूर्वी जापानमा बगेको तातो र आर्द्र हावा माथिको चिसो हावासँग मिसिँदा वायुमण्डलीय अवस्था अस्थिर बन्न पुग्यो, जसका कारण भारी वर्षा भएको हो। आगलागी तथा प्रकोप व्यवस्थापन विभागका अनुसार चिबा र इबाराकी प्रान्तका चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो। शुक्रबार बिहानसम्म पनि एक लाख २६ हजार मानिसका लागि सो आदेश कायमै थियो। चिबा, इबाराकी, साइतामा र गुन्मा प्रान्तहरूमा २०० भन्दा बढी राहत केन्द्रहरू स्थापना गरिएका छन्।

बाढी र डुबानका कारण इचिकावाको सडकमा एक व्यक्तिको शव भेटिएको अधिकारीहरूले जानकारी दिए। साकुरामा बाढीले भरिएको सडकमा कारभित्र फसेर ६६ वर्षीया महिलाको शव फेला परेको थियो। त्यसैगरी, याचियोमा पनि एक व्यक्तिको बाढीमा परेर मृत्यु भएको पुष्टि भयो। प्रिफेक्चरल सरकारका अनुसार साकुरामा अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ। काशिवामा भने कारमा फसेकी एक महिलालाई अस्पताल पुर्‍याइए पनि उनको अवस्था अज्ञात छ।

चिबामा सडकहरू नदीमा परिणत भएका थिए। मानिसहरू घुँडासम्म पानीमा हिँड्न बाध्य भए भने म्यानहोलबाट पानी बाहिर निस्किएको थियो। राहत केन्द्रमा पुगेकी ३४ वर्षीया एक महिलाले भनिन्, 'म घुँडासम्म भिजेकी थिएँ, पसल र प्रहरी चौकीमा समेत बिजुली थिएन। मलाई धेरै डर लाग्यो।' उनले पानी कम नभएसम्म आफू सुरक्षित स्थानमा बस्नुपर्ने बाध्यता रहेको बताइन्। २४ वर्षीया अर्की युवतीले भनिन्, 'हामीलाई त्यहाँ कुकिज र तौलिया दिइयो, चिसो भए पनि म केही घण्टा सुत्न सकेँ।'

चिबाको चुओ वार्डमा बिहीबार राति प्रतिघण्टा ११५ मिलिमिटर वर्षा भएको थियो। यो भनेको सामान्यतया अगस्ट महिनामा सो क्षेत्रमा हुने महिनाभरिको वर्षा बराबर हो। भारी वर्षाका कारण चिबाका करिब ४५ हजार घरमा बिजुली सेवा समेत अवरुद्ध भएको थियो। एजेन्सी

प्रकाशित: २९ श्रावण २०८३ ०८:४९ शुक्रबार