अन्तर्राष्ट्रिय

विदेशी विद्यार्थीको संख्या सीमित गर्दै इटाली : बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा

फाइल तस्बिर : प्रधानमन्त्री जर्जिया मेलोनी

इटालीले विद्यालयमा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ।

साथै विद्यालयमा बुर्का र नकाबमाथि प्रतिबन्ध लगाउने घोषणा प्रधानमन्त्री जर्जिया मेलोनीले गरेकी छन्। आप्रवासन आगामी वर्ष हुने आम चुनावको प्रमुख मुद्दा बन्ने अपेक्षा गरिएको छ।

मेलोनीले आइतबार आफ्नो ब्रदर्स अफ इटाली पार्टीको युवा शाखाको कार्यक्रममा प्रस्तावित परिवर्तनबारे जानकारी दिएकी हुन्। उनका अनुसार इटालियन समाजमा घुलमिल हुन समस्या भएका विदेशी विद्यार्थीका अभिभावकका लागि इटालियन भाषा कक्षा अनिवार्य गरिनेछ।

रोममा भएको कार्यक्रममा उनले भनिन्, ‘इटाली आउने र यहाँ आफ्नो भविष्य बनाउन चाहने जो कोहीले हाम्रो भाषा सिक्नुपर्छ, हाम्रो संस्कृति बुझ्नुपर्छ र हाम्रा नियमको सम्मान गर्नुपर्छ। उनीहरूलाई स्वागत गर्ने यो नै सही तरिका हो।’

सरकारले प्रस्ताव अनुमोदन गरेपछि त्यसलाई कानुन बनाउन ६० दिनभित्र संसद्को स्वीकृति आवश्यक पर्नेछ। मेलोनीको सरकार दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समयदेखि चलिरहेको सरकार हो।

अहिले बुर्का र नकाबलाई इटालीमा स्पष्ट रूपमा प्रतिबन्ध लगाइएको छैन। तर सन् १९७५ को कानुनले उचित कारणबिना पहिचान गर्न कठिन हुने कपडा प्रयोग गर्न रोक लगाएको छ। सन् २००८ को फैसलाले धार्मिक वा सांस्कृतिक कारणले अनुहार ढाक्न सकिने भए पनि पहिचान प्रमाणित गर्नुपर्ने अवस्थामा अनुहार देखाउनुपर्ने स्पष्ट गरेको थियो।

मेलोनीले प्रत्येक कक्षामा विदेशी विद्यार्थीको संख्या कानुनी रूपमा सीमित गर्ने बताएकी छन्। तर इटालियन कानुनमा कक्षा र विद्यालयमा विदेशी विद्यार्थीका लागि ३० प्रतिशतको सीमा यसअघि नै रहेको छ। यो व्यवस्थामा के परिवर्तन गरिने हो भन्ने उनले स्पष्ट पारेकी छैनन्। हाल इटालियन विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये करिब १२ प्रतिशत विदेशी विद्यार्थी छन्। एजेन्सी

प्रकाशित: ५ आश्विन २०८३ ०८:४९ सोमबार