तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन्।
सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।
नेतन्याहुले पूर्वसैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन्।
कुनै पनि दलले एक्लै बहुमत ल्याउने सम्भावना नरहेकाले सरकार गठनका लागि गठबन्धन र लामो वार्ता आवश्यक हुन सक्छ। अरब नेतृत्वका दलहरू निर्णायक बन्न सक्नेछन्।
नेतन्याहुका समर्थकले उनलाई युद्धको नेतृत्व गर्न सक्ने अनुभवी राजनीतिज्ञ र यहुदी पहिचानका रक्षकका रूपमा हेर्छन्।
तर विपक्षीहरूले भ्रष्टाचारसम्बन्धी मुद्दा, गाजाको युद्ध र बन्धक सङ्कटलाई लिएर उनको आलोचना गर्दै स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाएको तथा अति–रूढिवादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिएको आरोप लगाएका छन्।
निर्वाचनमा इरानसँगको तनाव र इजरायलको अन्तर्राष्ट्रिय छवि पनि महत्त्वपूर्ण विषय बनेका छन्। गाजा र पश्चिम किनारमा इजरायलको व्यवहार तथा यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाका कारण अन्तर्राष्ट्रिय आलोचना बढेको छ।
अमेरिकामा इजरायलप्रतिको सार्वजनिक समर्थन घटेको छ भने युरोपका केही साझेदारले प्रतिबन्ध लगाएका छन्।
आइसेनकोटका समर्थकले उनलाई सुरक्षा क्षेत्रको अनुभव भएको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्। गाजामा उनका छोरा र दुई भतिजाको मृत्यु भएको छ।
उनलाई समर्थन गर्न सक्ने दलहरूले न्यायपालिकाको स्वतन्त्रता सुदृढ गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने र अति–रूढिवादी पुरुषलाई पनि सैनिक सेवामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्।एपी
प्रकाशित: १० कार्तिक २०८३ १२:२२ मंगलबार