अमेरिका र इरानबिच जारी सैन्य तनाव तीन दिनदेखि रोकिएसँगै दुई देशलाई फेरि वार्ताको टेबलमा फर्काउने प्रयासमा महत्त्वपूर्ण प्रगति हुने आशाहरू बढेका छन्।
कतार र पाकिस्तानको मध्यस्थतामा वासिङ्टन र तेहरानबिच देखिएको खाडल कम गर्न तीव्र प्रयास भइरहेको मध्यपूर्वका अधिकारीहरूले बताएका छन्। विगत केही दिनदेखि अमेरिकी हमलाहरूमा आएको पूर्ण विराम र दुवै पक्षको मौन कूटनीतिक अभ्यासले तनाव केही हदसम्म शिथिल बन्दै गएको संकेत गर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग धेरै मैत्रीपूर्ण वार्ता भइरहेको दाबी गरेका छन्। उनले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग सकारात्मक दिशामा कुराकानी अघि बढेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले तेहरानसँग धेरै मैत्रीपूर्ण वार्ता गरिरहेको बताएका छन्। तर उनी लामो समयसम्म वार्ताका लागि तयार नभएको सुझाव दिन्छन्।
यद्यपि, इरानले भने प्रत्यक्ष वार्ता नभई मध्यस्थकर्ताहरू मार्फत मात्र सन्देश आदानप्रदान भइरहेको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले तेहरानले शान्ति वार्ता पुनः सुरु गर्न कुनै आग्रह नचालेको र मध्यस्थकर्ताहरू मार्फत कुराकानी भइरहेको बताएका छन्। इरानले अमेरिका युद्धबाट बाहिर निस्कने बाटो खोज्न संघर्ष गरिरहेको बताएको छ।
तनावका बिच कूटनीतिक भेटघाटहरू पनि तीव्र बनेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू वासिङ्टन डीसी पुगेका छन्। स्थानीय समय अनुसार मंगलबार राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यो भेटका क्रममा इरानविरुद्धको युद्ध मुख्य एजेन्डा बन्ने नेतान्याहूले स्पष्ट पारेका छन्।
यसैबिच, साउदी अरेबियाले इराकमा इरान समर्थित समूहहरूले रियाद र पूर्वी प्रान्तमा रहेका तेल सुविधाहरूलाई लक्षित गरी चलाएको ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले लेबनानमा इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको र तीमध्ये केही युद्ध अपराधको दायरामा पर्ने सक्ने दस्तावेजीकरण गरिएको बताएका छन्।
अमेरिका र इरानबिचको यस कूटनीतिक प्रयासको प्रमुख उद्देश्य विगतमा देखिएको सैन्य कारबाहीलाई स्थायी रूपमा रोक्नु र बृहत् सम्झौताको आधार तयार गर्नु हो। विश्वव्यापी तेल ढुवानीको मेरुदण्ड मानिने होर्मुज जलमार्गको नियन्त्रण र पारवहन अधिकार हालको मुख्य विवादको जड बनेको छ।
अमेरिका यो रणनीतिक जलमार्ग कुनै अवरोधबिना खुला रहनुपर्ने अडानमा छ भने इरानले यसबाट आफ्नो मुलुकले विशेष लाभ पाउनुपर्ने वा शुल्क असुल्न पाउनुपर्ने दाबी गर्दै आएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानमाथि लगाइएको नाकाबन्दीको पालना गराउन व्यावसायिक जहाजहरूलाई पुनः निर्देशित गर्ने कार्य जारी राखेको छ।
दुवै पक्षबिच संवादको ढोका खुले पनि गम्भीर मतभेदहरू अझै कायम रहेकाले ठोस सम्झौतामा पुग्न निकै कठिन कूटनीतिक कसरत गर्नुपर्ने देखिन्छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १२ श्रावण २०८३ ०७:४१ मंगलबार