अन्तर्राष्ट्रिय

गाजामा इजरायलको नयाँ सैन्य रणनीति : आठ लाख नागरिक स्थानान्तरण गर्ने

इजरायली सेनाले गाजा सिटीमा सैन्य नियन्त्रण स्थापना गर्ने योजना अघि सारेको छ, जुन पूर्ण रूपमा कार्यान्वयन हुन करिब छ महिना लाग्न सक्ने अनुमान गरिएको छ। 

इजरायलको सरकारी सञ्चार संस्था कान टिभी न्यूजले शनिबार साँझ दिएको जानकारीअनुसार, यो योजना देशको सुरक्षा परिषद्ले स्वीकृत गरेको हो।  

सम्बन्धित सुरक्षास्रोतहरूका अनुसार, आगामी दुई साताभित्र गाजा सिटीका झण्डै आठ लाख नागरिकहरूलाई दक्षिण गाजास्थित अल–मावासी मानवीय क्षेत्रमा सुरक्षित रूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। 

एक महिनापछि थप एक आरक्षित डिभिजनलाई परिचालन गरिनेछ, जसले हाल क्रियाशील पाँच डिभिजनसँग सहकार्य गर्दै दुई महिनाभित्र सुरु हुने अपेक्षित स्थलगत कारबाहीमा भूमिका खेल्नेछ।  

योजना अनुसार, मानवीय अवस्थालाई ध्यानमा राख्दै गाजामा प्रवेश गरिने राहत सामग्री बोकेका ट्रकहरूको सङ्ख्या बढाएर दैनिक एक हजार २०० पुर्‍याउने निर्णय पनि गरिएको छ।  

यद्यपि, उक्त सैन्य योजना प्रति इजरायलभित्र र अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रकारका प्रतिक्रिया आएका छन्। केही समालोचकहरूका अनुसार, यस्तो कदमले अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनी मान्यताहरूमा प्रश्न उठाउन सक्छ र गाजामा जारी मानवीय अवस्थालाई थप जटिल बनाउन सक्छ। साथै, युद्धविरामका लागि भइरहेका प्रयासहरूमा असर पर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।  

यसै सन्दर्भमा, शनिबार साँझ हजारौँ नागरिकहरूले तेल अविवस्थित होस्टेज स्क्वायरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गाजामा रहेका इजरायली बन्धकहरूको सकुशल रिहाइका लागि वार्तामार्फत समाधानको माग गरेका छन्। उनीहरूले द्वन्द्व अन्त्य र स्थायी शान्तिका लागि आग्रह समेत गरेका छन्। सिन्ह्वा

प्रकाशित: २६ श्रावण २०८२ ११:३६ सोमबार