अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजामा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गर्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुनअनुसार सहायता पुर्याउन अनुमति दिन र सबै नागरिकको मानवअधिकारको संरक्षण गर्न आग्रह गरेका छन्।
अष्ट्रेलियन ब्रडकास्टिंग कर्पोरेशन (एबीसी) मा आइतबार दिएको अन्तर्वार्तामा उनले भने, ‘खाद्य सामग्री रोक्नु, पानी र औषधीजस्ता आधारभूत आवश्यकतामा पहुँच नदिनुजस्ता कार्यहरू मानवताको सामान्य मूल्य र अन्तर्राष्ट्रिय कानुन दुवैको उल्लंघन हुन्। सबै पक्षले जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार देखाउनुपर्छ।’
प्रधानमन्त्री अल्बानीजले जोड दिँदै भने, ‘हामी सबैका लागि प्रत्येक निर्दोष ज्यान महत्त्वपूर्ण हुन्छ। चाहे त्यो इजरायली होस् वा प्यालेस्टिनी। द्वन्द्वका कारण बालबालिका भोकै छन्, आम सर्वसाधारण अत्यन्त कष्टमा छन्। यो स्थिति दुखद छ।’
शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा उनले गाजाको अवस्थालाई ‘विश्वकै सबैभन्दा भयावह मानवीय संकटहरूमध्ये एक’ भनेर वर्णन गरेका छन् र मानवअधिकार संस्था तथा सहायता संघसंस्थाहरूलाई निर्बाध रूपमा राहत कार्य गर्न दिन आग्रह गरेका छन्।
उनले थप भने, ‘इजरायलले अन्तर्राष्ट्रिय दायित्वअनुसार काम गर्नुपर्छ। संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता संस्थाहरूले सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो कार्य सम्पादन गर्न पाउनुपर्छ। कुनै पनि जबरजस्ती विस्थापन योजना तत्काल बन्द गरिनुपर्छ।’ सिन्ह्वा
प्रकाशित: ११ श्रावण २०८२ २१:४२ आइतबार