अन्तर्राष्ट्रिय

ट्रम्पलाई आईआरजीसीको जवाफ : युद्ध कहिले सकिन्छ भन्ने निर्णय इरानले गर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै सकिने दाबी गरे पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले त्यसको प्रतिवाद गरेको छ। 

युद्ध कहिले सकिन्छ भन्ने निर्णय इरानले नै गर्ने उसले बताएको छ। आईआरजीसीले चेतावनी दिँदै यदि अमेरिका र इजरायली आक्रमण जारी रहेमा यो क्षेत्रबाट ‘एक लिटर पनि तेल निर्यात गर्न दिइने छैन’ भनेको छ।

विश्वको २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जल मार्गमा बढ्दो तनावले इन्धनको मूल्य आकासिने सम्भावना छ। यसैबिच, आईआरजीसीले इराकको एर्बिलस्थित अमेरिकी सैन्य अड्डामा पाँच वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। यद्यपि, क्षतिबारे विवरण सार्वजनिक गरिएको छैन।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले हालको युद्धमा इरानको हात रहेको स्वीकार गर्दै भनेका छन्, ‘यो युद्ध कहिले समाप्त हुन्छ भन्ने निर्णय हामी गर्नेछौँ।’ उनले थपे, ‘म अब वार्ताको लागि कुनै ठाउँ देख्दिनँ।’ 

अमेरिकाले वाचा पूरा नगरेको र वार्ताकै बिचमा आक्रमण गरेको आरोप लगाउँदै इरानले लामो लडाइँका लागि तयार रहेको स्पष्ट पारेको छ। इरानी नेतृत्वले अब अमेरिका र उसका सहयोगीमाथि आर्थिक दबाब नबढेसम्म संघर्ष नरोकिने संकेत दिएको छ। एजेन्सी  

प्रकाशित: २६ फाल्गुन २०८२ १३:५५ मंगलबार