इजरायलका दुई दक्षिणी सहर डिमोना र अरादमा इरानले क्षेप्यास्त्र आक्रमण भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार शनिवार इजरायली हवाई प्रतिरक्षा प्रणालीले दुई ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न असफल भएपछि हमला भएको हो।
टाइम्स अफ इजरायलका अनुसार यस आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ।
आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले इरानसँगको युद्धको बिचमा 'सबै मोर्चामा' शत्रुहरूसँग लड्न जारी राख्ने वाचा गरेका छन्।
इरानले इजरायलको आणविक अनुसन्धान केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ। यो केन्द्र डिमोनाबाट १० किलोमिटर र अरादबाट ३० किलोमिटर दूरीमा छ। इरानले आफ्नो नातान्ज युरेनियम संवर्धन केन्द्रमा भएको अमेरिकी आक्रमणको बदलास्वरूप यो कदम चालेको दाबी गरेको छ। तर इजरायली सेनाले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रलाई इजरायलको शंकास्पद आणविक हतियार कार्यक्रमको प्रमुख केन्द्र मानिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र सहरमा खस्नुअघि तीव्र गतिमा उडिरहेको देखिन्छ। दाबी अनुसार ती क्षेप्यास्त्रमा सयौँ किलो विस्फोटक पदार्थ थियो।
घाइतेहरूको बेरशेबास्थित सोरोका मेडिकल सेन्टरमा उपचार भइरहेको छ। क्षेप्यास्त्रले घर र भवनहरूमा ठुलो क्षति पुर्याएपछि उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्। एजेन्सी
प्रकाशित: ८ चैत्र २०८२ १०:०५ आइतबार