युएईमा भएको इरानी आक्रमणका क्रममा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयका अनुसार शनिबारदेखि जारी यस आक्रमणमा परी नेपाली, पाकिस्तानी र बंगलादेशी नागरिकले ज्यान गुमाएका हुन्।
गल्फ न्यूजका अनुसार आक्रमणमा परी विभिन्न देशका ५८ जना सामान्य घाइते भएका छन्। मन्त्रालयका अनुसार देशको वायु सेना र हवाई रक्षा प्रणालीले अहिलेसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरिसकेको छ। जसमध्ये अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरिएको छ।
आक्रमणको दोस्रो बिहान सशस्त्र बलले २० वटा ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको र आठवटा समुद्रमा खसेको बताएको छ। यस्तै ३११ ड्रोन नष्ट गरिए पनि २१ वटाले नागरिक लक्ष्यमा प्रहार गरेका थिए। ५४१ ड्रोनमध्ये ५०६ वटालाई रोकेर नष्ट गरिएको र ३५ वटा देश भित्र अवतरण हुँदा भौतिक क्षति भएको छ।
रक्षा मन्त्रालयले भनेको छ, ‘सशस्त्र बल कुनै पनि खतराको सामना गर्न पूर्ण रूपमा तयार छ। नागरिक र आगन्तुकको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो।’ मन्त्रालयले नागरिकलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह नफैलाउन आग्रह गरेको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ २०:०३ आइतबार