इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना दुई छोरामध्ये एकको ज्यान लिन खोजेको दाबी गरेका छन्।
सरकार समर्थक च्यानल १४ सँग फोन अन्तर्वार्ताका क्रममा नेतन्याहुले इरानले आफ्ना एक छोरालाई निशाना बनाएको बताएका हुन्। ‘इरानले मेरा एक छोरालाई निशाना बनाएको थियो। इरानले मेरा एक छोरालाई मार्ने प्रयास गरेको थियो,’ उनले भने।
आफ्ना छोराहरूलाई दिइँदै आएको सुरक्षा व्यवस्थाको बचाउ गर्दै नेतन्याहुले यस्तो सुरक्षा आवश्यक रहेको बताए। उनले आफूले आगामी निर्वाचन हारे पनि आफ्नी श्रीमती सारा र दुई छोरालाई कम्तीमा पाँच वर्षसम्म सुरक्षा उपलब्ध गराउने विषयमा शिन बेटसँग सम्झौता भएको बताएका छन्।
‘त्यसैले उनीहरूले पाउने सुरक्षा कुनै विलासिता होइन,’ नेतन्याहुले भने। सुरक्षा नदिए सम्भावित हत्याराहरू आफ्नो योजनामा सफल हुन सक्ने उनको भनाइ थियो।
तर नेतन्याहुका दुई छोरा यायर र एभनरमध्ये कसलाई इरानले कथित रूपमा निशाना बनाएको थियो भन्ने स्पष्ट छैन। घटना कहिले र कसरी भएको थियो भन्ने उनले खुलाएका छैनन्।
एभनर इजरायलमै बस्दै आएका छन्। अर्का छोरा यायर भने पछिल्ला केही वर्ष मियामीमा बस्दै आएका छन्। उनी दक्षिणपन्थी धारका विवादास्पद टिप्पणीका कारण पनि चर्चामा रहने गरेका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार कथित आक्रमणको प्रयास भएको समयमा यायर इजरायलमा थिएनन्। तर यायर नै लक्षित व्यक्ति थिए भनेर भने खुलाइएको छैन।
कथित आक्रमणको योजनाबारे इजरायलको सुरक्षा निकायलाई केही महिनादेखि जानकारी थियो। तर सैन्य सेन्सरका कारण यसबारे सार्वजनिक रूपमा समाचार प्रकाशन गर्न रोक लगाइएको बताइएको छ।
नेतन्याहुले आफ्ना छोराहरूलाई दिइँदै आएको उच्चस्तरको सुरक्षा व्यवस्थाको औचित्य पुष्टि गर्न उक्त कथित आक्रमणको प्रसंग उठाएका हुन्।
प्रकाशित: ९ भाद्र २०८३ १३:३५ मंगलबार