अन्तर्राष्ट्रिय

इरानले दुई लाख अफगानीलाई कामदार भिसा दिने

इरानले दुई लाख अफगान नागरिकलाई कामदार भिसा दिने भएको छ। 

तालिबान सरकारका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्री अब्दुल कबिरले इरानी विदेश मन्त्रालयका दक्षिण एसियाली मामिला निर्देशक मोहम्मद रेजा बहरामीसँग भेट गरेका छन्। भेटमा इरानमा अफगानी आप्रवासीको अवस्था र क्षेत्रीय विकासबारे छलफल भएको टोलोन्यूजले जानकारी दिएको छ। 

बहरामीले काबुल र तेहरानबिचको व्यापार सम्बन्धको प्रगति उजागर गर्दै अफगानी नागरिकका लागि दुई लाख कामदार भिसा दिने घोषणा गरेका हुन्। उनले अफगानिस्तान र पाकिस्तानबिचको तनावलाई चिन्ताजनक भएको बताए। उनले भने, ‘यदि इस्लामिक इमिरेट्सले स्वीकार गर्छ भने इरान काबुल र इस्लामाबादबिच मध्यस्थता गर्न तयार छ।’  

अब्दुल कबिरले इरानलाई अफगानी आप्रवासीलाई दयालु व्यवहार गर्न र उनीहरूको सम्पत्तिको सुरक्षा गर्न आग्रह गरेका थिए। उनले पाकिस्तानको नाम नलिई शरणार्थीलाई आश्रय दिएका देशले जबरजस्ती देश निकाला गर्न नहुने पनि उल्लेख गरे। 

काबुल र इस्लामाबादबिचको तनावबारे उनले भने, ‘अफगान माटोलाई अरूको विरुद्ध प्रयोग गर्नु इस्लामिक इमिरेट्सको नीति होइन।’ उनले छिमेकी पाकिस्तानलाई आरोपको सट्टा धार्मिक विद्वानसँग संवाद र सहयोगबाट समस्या समाधान गर्न सुझाए। पाकिस्तानले तालिबान सरकारले भारतको इसारामा पाकिस्तानसँग द्वन्द्व गरिरहेको आरोप लगाउँदै आएको छ। एजेन्सी

प्रकाशित: १ कार्तिक २०८२ १०:२६ शनिबार