अन्तर्राष्ट्रिय

इरानको जवाफी कारबाही: यूएईमा एक जनाको मृत्यु, कतारमा पनि विष्फोट

तस्बिर : एएफपी

शनिबार बिहानै अमेरिका र इजरायलले इरानको राजधानी तेहरानसहितका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि मध्यपूर्वको अवस्था थप तनावपूर्ण बनेको छ।

अमेरिका-इजरायलको आक्रमणलगत्तै इरानले पनि जवाफी कारबाही सुरु गरेको छ। इरानले इजरायलका साथै खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै करिब ४०० क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी क्षेप्यास्त्र आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा एक जना एसियाली नागरिकको मृत्यु भएको छ।

यूएईको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई आफ्नो वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरे पनि त्यसको भग्नावशेष आवासीय क्षेत्रमा खस्दा ती नागरिकको ज्यान गएको जनाएको छ। मृतकको नाम भने खुलाइएको छैन।

यस आक्रमणलाई कायरतापूर्ण कार्य भन्दै यूएईले निन्दा गरेको छ। साथै, यसको जवाफ दिने पूर्ण अधिकार आफूसँग सुरक्षित रहेको समेत यूएईले चेतावनी दिएको छ।

अबुधाबीको दक्षिणमा रहेको अल दाफ्रा एयर बेसमा अमेरिकी र यूएईका वायुसेना संयुक्त रूपमा तैनाथ छन्। रिपोर्टका अनुसार इरानले यूएईको सबैभन्दा बढी जनघनत्व भएको सहर दुबईलाई समेत लक्षित गरेको थियो।

यसैबीच, कतारको राजधानी दोहामा पनि विष्फोटको ठूलो आवाज र एयर रेड साइरन सुनिएको छ। कतारको रक्षा मन्त्रालयले देशको भूभाग लक्षित थुप्रै आक्रमणहरूलाई सफलतापूर्वक विफल पारेको जनाएको छ।

एक कतारी अधिकारीले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार अमेरिकी निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्रलाई नष्ट गरेको थियो।

कतारमा मध्यपूर्वमै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेद एयर बेस रहेको छ। इरानले इजरायलबाहेक कतार, कुवेत, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अखडाहरूमा पनि हमला गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनताको स्वतन्त्रता आफ्नो मुख्य चासो रहेको प्रतिक्रिया दिएका छन्। शनिबार बिहान वासिङ्टन पोस्टसँगको कुराकानीमा ट्रम्पले इरानलाई एउटा सुरक्षित राष्ट्र बनाउन अमेरिकाले काम गरिरहेको बताए।

‘म केवल त्यहाँका जनताको स्वतन्त्रता चाहन्छु। म एउटा सुरक्षित राष्ट्र चाहन्छु, र हामी त्यही प्राप्त गर्न गइरहेका छौँ,’ ट्रम्पले भने। उनले अमेरिकी सेनाको मुख्य लक्ष्य इरानका क्षेप्यास्त्रहरू नष्ट गर्नु र उसको क्षेप्यास्त्र कार्यक्रमलाई पूर्ण रूपमा समाप्त पार्नु रहेको प्रस्ट पारेका छन्।

इजरायलले इरानविरुद्धको यस नयाँ सैन्य अभियानको नाम लायन्स रोर राखेको छ। अल जजीराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको पुष्टि गरेको छ।

इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, आणविक ऊर्जा सङ्गठन र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको कार्यालयलाई निशाना बनाएको थियो। आक्रमणलगत्तै सर्वोच्च नेता खामेनीलाई सुरक्षित स्थानमा सारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

इरान र अमेरिकाबीच आणविक हतियार र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो। इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई रेड लाइन मान्दै त्यसमा कुनै सम्झौता नहुने अडान राख्दै आएको छ भने अमेरिकाले यसैलाई निस्तेज पार्न यो कारबाही अघि बढाएको हो।

प्रकाशित: १६ फाल्गुन २०८२ १७:०० शनिबार