अन्तर्राष्ट्रिय

ग्यारेन्टी माग्दै इरानका राष्ट्रपतिले भने : युद्ध रोक्न सक्छौं

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायल र अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्न आफ्नो देशसँग आवश्यक इच्छाशक्ति रहेको बताएका छन्। युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँग मंगलबार भएको टेलिफोन कुराकानीमा उनले यस्तो धारणा राखेका हुन्।

पेजेस्कियानले द्वन्द्व समाधानका लागि आक्रमणको पुनरावृत्ति नहुने ठोस ग्यारेन्टी र इरानी जनताको राष्ट्रिय सुरक्षाको सुनिश्चितता हुनुपर्ने मुख्य सर्त राखेका छन्। उनले भने, ‘हामीसँग यो द्वन्द्व अन्त्य गर्ने आवश्यक इच्छाशक्ति छ, तर यसका लागि आवश्यक शर्तहरू पूरा हुनुपर्छ-विशेष गरी आक्रमण दोहोरिन नदिने ग्यारेन्टी।’ उनले इरानसँग आत्मरक्षा गर्ने अधिकार रहेको भन्दै छिमेकी देशहरूको सार्वभौमिकताको सम्मान गर्ने बताए। 

यसैबिच, कोस्टाले मध्यपूर्वको स्थिति अत्यन्त खतरनाक रहेको बताउँदै इरानलाई तनाव घटाउने, क्षेत्रीय देशहरूमाथि आक्रमण रोक्ने र होर्मुज जलमार्गमा नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गरेका छन्। कुराकानीमा युरोपेली परिषद्का अध्यक्ष कोस्टाले मिनाब घटनाप्रति गहिरो दुख व्यक्त गरेका थिए।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा इरान युद्धका आगामी दिनहरू निर्णायक हुने बताए। उनले भने, ‘आगामी दिनहरू निर्णायक हुनेछन्। इरानलाई थाहा छ कि उससँग सैन्य रूपमा धेरै विकल्प छैनन्।’ उनले वार्ता जारी रहेको उल्लेख गर्दै इरानलाई चेतावनी दिँदै भने, ‘यदि इरान बुद्धिमान छ भने सम्झौता गर्नेछ, नत्र अमेरिका आफ्नो सैन्य शक्तिमार्फत अघि बढ्नेछ।’

अमेरिकी अधिकारीहरूका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको सैन्य अभियानमा इरानका हजारौं लक्ष्यहरूमा प्रहार गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पूर्ण रूपमा खोल्न इरानलाई दिएको समयसीमा अप्रिल ६ मा सकिनेछ। ट्रम्प वार्ता राम्रोसँग अघि बढिरहेको दाबीसहित इरान सम्झौताका लागि इच्छुक देखिएको बताउँदै आएका छन्। तर उनले पछिल्लो पटक सहयोगी राष्ट्रहरूलाई चेतावनी दिँदै भनेका छन्, ‘तेलको सुरक्षाका लागि तपाईंहरू आफैं अग्रसर हुनुपर्छ, अमेरिकाले सधैं सहयोग गर्दैन।’ 

यो युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। मार्च महिनामा यो ११९-१२० डलर प्रति ब्यारेल सम्म पुगेको थियो। पछिल्ला वार्ता र शान्ति प्रयासका समाचारले केही राहत दिँदै मूल्य १००-११२ डलरको आसपास झरेको देखिन्छ। अब अमेरिकामा पनि तेलको मूल्य बढ्न थालेको छ। अमेरिकामा तेलको मूल्य प्रति ग्यालन चार डलर पार गरेको छ। उक्त कुराले ट्रम्पमाथि इरान युद्ध तत्काल रोक्न थप दबाब परेको छ। यसबिच अहिले पाकिस्तानले चीनसँग मिलेर इरान युद्ध समाप्त गर्न आवश्यक पहल थालेको जनाएको छ। एजेन्सी 

प्रकाशित: १८ चैत्र २०८२ १४:५२ बुधबार