युद्धबीच इरानी नागरिकहरू अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले स्वीकार गरेका छन्।
अमेरिकाले नयाँ प्रतिबन्धको श्रृङ्खला ल्याएर इरानको अर्थतन्त्रलाई थप सङ्कटग्रस्त बनाउन खोजेपछि आइतबार उनको यो भनाइ सार्वजनिक भएको हो।
‘म बुझ्छु कि अहिले समाजमा धेरै समस्या छन्। हामी सकेसम्म यी समस्या रोक्न प्रयास गरिरहेका छौँ,’ पेजस्कियानले राष्ट्रिय टेलिभिजनमा प्रसारित एक भिडियो सम्बोधनमा भने।
उनको यो टिप्पणी अमेरिकाले गत हप्ता इरानी शासनलाई ‘पतन’ तर्फ धकेल्ने लक्ष्यसहित नयाँ प्रतिबन्ध अभियान घोषणा गरेपछि आएको हो। दुई देशबीच युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ।
उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण इरानले अहिले ‘पूर्ण आर्थिक, सैन्य र सुरक्षा युद्ध’ को सामना गरिरहेको छ। ट्रम्प प्रशासनले इरानमाथि सबैभन्दा कडा र डरलाग्दो प्रतिबन्ध लगाइरहेको छ’।
इरानी सरकारले पछिल्ला वर्षहरूमा धेरै पटक ठूला जनप्रदर्शनको सामना गर्नुपरेको छ। यी प्रदर्शनहरू प्रायः आर्थिक कठिनाइ मुद्रास्फीति र विनिमय दरको उतारचढावले क्रयशक्ति घटेका कारणबाट सुरु हुने गर्छन्।
गत डिसेम्बरको अन्त्यतिर जीवनयापनको खर्च बढेपछि सुरु भएको विरोध प्रदर्शनले सत्ताविरुद्ध ठूलो दवाव दिएको थियो।
हजारौँ प्रदर्शनकारीसहित सयौँ अधिकारीको पनि उक्त आन्दोलनका क्रममा मृत्यु भएको थियो।
अधिकारिहरूले उक्त हिंसामा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका थिए र अमेरिका तथा इजरायललाई हिंसा उक्साएको आरोप लगाएका थिए।
तर विदेशस्थित इरानी गैरसरकारी संस्थाहरूले भने अधिकारीहरूले निर्दयी दमन गरेर हजारौँ मानिसको ज्यान लिएको दाबी गरेका थिए।
‘हामी दिलदेखि प्रयास गरिरहेका छौँ कि मुद्रास्फीति, जीवनयापनका समस्या, बेरोजगारी जस्ता कुराहरूलाई जित्न सकियोस् र जनताको भविष्य सुरक्षित होस्, ताकि उनीहरू सम्मान र गर्वका साथ बाँच्न सकून्,’ पेजेस्कियानले भने।
प्रकाशित: ७ भाद्र २०८३ १९:१४ आइतबार