अमेरिका र इजरायलले व्यापक हवाई आक्रमण गरेपछि पनि इरान कमजोर नबनी अझै कडा प्रतिरोध गरिरहेको देखिएको छ । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको सैन्य क्षमता लगभग नष्ट भएको दाबी गरे पनि वास्तविकता फरक देखिएको छ ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानको सैन्य शक्ति छिटो निष्क्रिय बनाइएको बताएका थिए । तर एक महिनाभन्दा बढी समयसम्म जारी आक्रमणपछि पनि इरानले लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ ।
इरानका मिसाइलहरूले अझै इजरायलको आकाश प्रवेश गरी नागरिक क्षति पुर्याइरहेका छन् भने सस्तो ड्रोनहरूले खाडी क्षेत्रका देशहरूको सुरक्षा प्रणालीमा आक्रमण गरिरहेका छन् । यसले क्षेत्रीय अस्थिरता बढाउनुका साथै विश्व अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ ।
इरानले तेल र ग्यास ढुवानी हुने महत्वपूर्ण जलमार्ग ‘होर्मुज स्ट्रेट’ मा खतरा उत्पन्न गर्दै ऊर्जा मूल्य बढाएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा दबाब सिर्जना गरेको छ ।
यद्यपि, युद्ध सुरु भएको तुलनामा इरानले अहिले कम ब्यालिस्टिक मिसाइल प्रहार गरिरहेको देखिन्छ । तर विज्ञहरूका अनुसार यो कमजोरी नभई रणनीति पनि हुन सक्छ-इरानले आफ्नो शक्ति दीर्घकालीन रूपमा प्रयोग गर्न बचत गरिरहेको हुन सक्छ ।
इरानले पछिल्लो समय कम उचाइमा उड्ने ड्रोनहरूको प्रयोग बढाएको छ, जुन रोक्न कठिन हुन्छ । यसले अमेरिका र इजरायलका प्रतिरक्षा प्रणालीमा दबाब बढाएको छ ।
विशेषज्ञहरूका अनुसार, इरानले अब आफ्नो आक्रमण रणनीति परिवर्तन गर्दै आर्थिक क्षति पुर्याउने लक्ष्यमा केन्द्रित भएको छ । तेल पाइपलाइन, पानी प्रशोधन केन्द्रजस्ता संवेदनशील संरचनामा आक्रमण गरी अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई दबाब दिन खोजिएको छ ।
विश्लेषकहरूको भनाइमा, यो असमान युद्धमा इरानको मुख्य उद्देश्य विश्व अर्थतन्त्रमा असर पार्दै अमेरिकालाई वार्तामा बाध्य बनाउनु हो ।
इरानसँग अझै हजारौँ ड्रोन र केही मिसाइल क्षमता बाँकी रहेको अनुमान गरिएको छ, जसले देखाउँछ कि यो युद्ध अझै लम्बिन सक्ने सम्भावना रहेको छ ।एपी
प्रकाशित: १८ चैत्र २०८२ १४:३६ बुधबार