इरानले चीनमा निर्मित चार सयसम्म काँधबाट प्रहार गर्न सकिने वायु-रक्षा मिसाइल प्रणाली (म्यानप्याड्स) को पहिलो खेप आगामी केही साताभित्र प्राप्त गर्ने अपेक्षा गरिएको छ।
अमेरिका र इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त बनेको आफ्नो सुरक्षा पूर्वाधार पुनर्निर्माण गर्न इरानले यो कदम चालेको हो। यस सम्झौतासँग परिचित तीन स्रोतले यो जानकारी दिएको भन्दै समाचार संस्था रोयटर्सले यस्तो दाबी गरेको हो। करिब छ करोडदेखि सात करोड अमेरिकी डलर (६० देखि ७० मिलियन) बराबरको यो खरिद अमेरिका र इजरायलसँगको द्वन्द्व सुरु भएयता इरानले आफ्नो छोटो दूरीको वायु प्रतिरक्षा प्रणाली सुदृढ गर्न चालेको सबैभन्दा ठूलो प्रयास हो। यस द्वन्द्वले इरानको सैन्य साइट र रणनीतिक पूर्वाधारको रक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरूलाई उजागर गरेको थियो।
समाचार अनुसार यो सम्झौताअन्तर्गत चीनमा निर्मित क्युडब्ल्यु-१२ र एफएन-१६ मिसाइलसहित ३०० देखि ४०० सम्म म्यानप्याड्स खरिद गरिनेछ। हङकङस्थित झोङकिङ बाओशाङ इन्टरनेसनल इन्भेस्टमेन्ट नामक कम्पनीमार्फत यो सम्झौता गरिएको हो। उक्त कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ताबिच मध्यस्थको रूपमा काम गरेको स्रोतले बताएका छन्। यस विषयको संवेदनशीलताका कारण नाम नबताउने सर्तमा स्रोतहरूले कुरा गरेका हुन्।
इरानको विदेश मन्त्रालयले यस विषयमा सोधिएको प्रश्नको तुरुन्त कुनै जवाफ दिएको छैन। चीनको विदेश मन्त्रालयले भनेको छ, ‘सम्बन्धित रिपोर्टहरू पूर्ण रूपमा आधारहीन छन्। चीनले शान्ति प्रवर्धन र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका खेलेको छ।’ बेइजिङस्थित झोङकिङ बाओशाङ समूहले इमेलमार्फत पठाइएको प्रतिक्रियाको तत्काल कुनै जवाफ दिएको छैन।
अमेरिका र इजरायलले इरानको मिसाइल, ड्रोन र वायु-रक्षा कार्यक्रमसँग सम्बन्धित केन्द्रहरूमा प्रहार गरेपछि इरानले महिनौंसम्मको लडाइँपछि आफ्नो प्रतिरक्षा प्रणाली पुनर्जीवित गर्नु परेको छ। यस द्वन्द्वले उन्नत विमान र सटीक-निर्देशित हतियारविरुद्ध रणनीतिक साइटहरूको रक्षा गर्न ठूलो चुनौती रहेको देखाएको छ।
गत शनिबारदेखि वासिङ्टनले तेहरानमाथि प्रत्यक्ष रूपमा गर्दै आएको दुई साता लामो बमबारी अचानक रोकेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै भनेका छन् कि यदि वार्ताबाट द्वन्द्व अन्त्य हुन सकेन भने आक्रमण फेरि सुरु हुनेछ। पाँच महिना लामो यो द्वन्द्व अप्रिलदेखि नै सिद्धान्ततः युद्धविरामको अवस्थामा रहँदै आएको छ। सयौं म्यानप्याड्सको आपूर्तिले इरानको छोटो दूरीको वायु-रक्षा हतियारको भण्डार उल्लेख्य रूपमा बढाउनेछ। साथै, इरान र चीनबिचको सैन्य सम्बन्ध अझ गहिरो हुँदै गएको स्पष्ट पार्छ।
दाबी अनुसार सम्झौतामा हस्ताक्षर भए पनि डेलिभरीको तालिका, मात्रा र अन्य कार्यान्वयन विवरणहरू अझै परिवर्तन हुन सक्छन्। सहमति भएको योजनाअनुसार सुरुमा पश्चिमी चीनको उरुम्चीबाट हवाईमार्गमार्फत र त्यसपछि पाकिस्तान हुँदै इरानमा सामग्री पुर्याइनेछ। यद्यपि, स्थानान्तरण हवाई वा सडक कुन माध्यमबाट हुने भन्ने स्पष्ट छैन।
पाकिस्तानको सैन्य सार्वजनिक सम्बन्ध शाखा (आईएसपीआर) ले भनेको छ, ‘चीनबाट इरानलाई एयर डिफेन्स हतियारको आपूर्तिमा पाकिस्तान संलग्न रहेको दाबी बिल्कुल गलत र मनगढन्ते हो।’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
सैन्य विज्ञहरूका अनुसार विगत दुई दशकमा इरानले मिसाइल, ड्रोन र रडारमा ठूलो लगानी गरे पनि पोर्टेबल एयर-डिफेन्स प्रणाली निकै महत्त्वपूर्ण हुन्छ। किनभने यसलाई छिटो परिचालन गर्न सकिन्छ, साना टोलीहरूले सञ्चालन गर्न सक्छन्। अनि बारम्बार स्थान परिवर्तन गर्न सकिने भएकाले यी स्थिर एन्टि-एयरक्राफ्ट ब्याट्रीभन्दा बढी सुरक्षित हुन्छन्।
एक युरोपेली सुरक्षा स्रोतले क्युडब्ल्यु-शृङ्खलाका म्यानप्याड्स (क्युडब्ल्यु-१२, क्युडब्ल्यु-१८ र क्युडब्ल्यु-१९ सहित) को सम्भावित बिक्रीसम्बन्धी छलफलहरूबारे आफ्ना अधिकारीहरू सचेत रहेको बताएको छ। मध्यपूर्वका अर्का सुरक्षा स्रोतले इरानले क्युडब्ल्यु-१२ र क्युडब्ल्यु-१८ मिसाइलहरू किन्न खोजिरहेको बताए, यद्यपि सम्झौता भइसकेको विषयमा भने उनी अनभिज्ञ थिए।
क्युडब्ल्यु-१२ र एफएन-१६ काँधबाटै प्रहार गर्न सकिने इन्फ्रारेड-निर्देशित सतह-देखि-आकाशमा मार हान्ने मिसाइल प्रणाली हुन्। कम उचाइमा उडान भर्ने विमान, हेलिकप्टर र ड्रोनलाई निस्तेज पार्न यी डिजाइन गरिएका हुन्। रक्षा विश्लेषकहरूले क्युडब्ल्यु-१२ लाई नयाँ संस्करणहरू (क्युडब्ल्यु-१८ र क्युडब्ल्यु-१९) भन्दा कम सक्षम माने तापनि यसले ड्रोन र कम उचाइमा उड्ने लक्ष्यहरूविरुद्ध छोटो दूरीको प्रभावकारी सुरक्षा प्रदान गर्न सक्ने बताएका छन्।
दुई पश्चिमी गुप्तचर स्रोत र एक इरानी अधिकारीले बताए अनुसार तेहरानले चिनियाँ सैन्य आपूर्ति र अन्य सामग्रीहरू ओसार्न स्थलमार्ग प्रयोग गर्न थालेको छ। वर्षौंसम्मको प्रतिबन्धका बाबजुद इरानले घरेलु उत्पादन र विदेशी आपूर्तिकर्ताको संयोजनमा आफ्नो प्रतिरक्षा प्रणालीलाई निरन्तरता दिइरहेको छ। यसअघि रोयटर्सले इरान चीनसँग एन्टी-शिप क्रूज मिसाइलहरू प्राप्त गर्न छुट्टै सम्झौताको नजिक पुगेको रिपोर्ट गरेको थियो। यद्यपि, उक्त सम्झौता पूर्ण भयो वा भएन भन्नेबारे हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन। एजेन्सी
प्रकाशित: १३ श्रावण २०८३ १४:३३ बुधबार