रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन्।
इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको बताइएको छ। अहिले ती सुधारिएका ड्रोनहरू फेरि इरानतर्फ पठाइँदै छन्।
ती ड्रोनहरूमा उन्नत मार्गनिर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने क्षमता तथा कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन प्रणाली जस्ता विशेषताहरु थपिएका बताइएको छ।
अधिकारीहरूका अनुसार यस महिनामा रूस र इरानबीच ड्रोन हस्तान्तरणबारे सक्रिय छलफल भएको थियो। यद्यपि कति सङ्ख्यामा ड्रोन पठाइयो वा यो एकपटकको आपूर्ति हो कि निरन्तर हुने हो भन्ने स्पष्ट छैन।
यसैबीच, इरानले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विभिन्न स्थानमा ड्रोन आक्रमण तीव्र बनाएको छ। उन्नत ड्रोनको प्रयोगले अमेरिका र उसका सहयोगी राष्ट्रहरूका लागि ती आक्रमण रोक्न थप चुनौती सिर्जना गर्न सक्ने बताइएको छ।
रूस र इरानबीच सैन्य तथा प्रविधिगत सहकार्य पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। युक्रेन युद्धपछि रूसले इरानी ड्रोन व्यापक रूपमा प्रयोग गरेको थियो भने अहिले दुवै देशबीच प्रविधि आदानप्रदान अझ गहिरिएको देखिएको छ।
प्रकाशित: १४ चैत्र २०८२ १३:४१ शनिबार