अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथि थप ठुलो आक्रमण नगर्न चेतावनी दिएका छन्। इरान र इजरायलबिचको शत्रुता बढ्दै जाँदा अमेरिका र इरानबिच हुन लागेको सम्भावित सम्झौता जोखिममा पर्न सक्ने डर ट्रम्पलाई छ।
समाचार संस्था एक्सियोसका अनुसार ट्रम्पले नेतान्याहुलाई चेतावनी दिँदै भनेका छन्, ‘बिबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै ९यो युद्धमा० एक्लो पर्नुहुनेछ।’
ट्रम्प इजरायली आक्रमणले अमेरिका र इरानबिच जारी वार्तालाई बिथोल्न सक्छ भन्ने कुरामा चिन्तित छन्। दुई देशबिच अझै पनि शान्ति सम्झौताको सम्भावना रहेको उनको विश्वास छ।
इजरायलले लेबनानको बेरुतमा रहेको हिजबुल्लाहमाथि भीषण आक्रमण गरेपछि यो क्षेत्रमा तनाव थप बढेको हो। तनाव उत्कर्षमा पुगेपछि सोमबार इरानले इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
जवाफमा इजरायलले पनि इरानी सैन्य अड्डाहरू र पेट्रोकेमिकल कारखानामा सीमित जवाफी आक्रमण गर्यो। दुई महिनाअघि (अप्रिलमा) अमेरिकाले तेहरानसँग युद्धविरामको सहमति गराएपछि पहिलो पटक भएको यो ठुलो गोलाबारीले मध्यपूर्व फेरि पूर्ण स्तरको युद्धमा फस्न सक्ने चिन्ता बढाएको छ।
हाललाई इरान र इजरायलले आपसी आक्रमणहरू रोकेका छन्। तर तेहरानले यदि इजरायलले लेबनानसहित आफ्नो आक्रामकता जारी राखेमा आक्रमण फेरि सुरु गर्ने चेतावनी दिएको छ।
यो युद्धले विश्वव्यापी अर्थतन्त्रलाई प्रत्यक्ष असर पुर्याएको छ, जसका कारण विश्वभर कच्चा तेलको मूल्य फेरि बढेको छ भने खाद्यान्न लगायतका आधारभूत वस्तुहरू महँगो भएका छन्।
यता, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले 'रेड सी' (रातो सागर) मा इजरायलसँग सम्बन्धित जहाजहरूमाथि नाकाबन्दीको घोषणा गरेका छन्। यसले गर्दा विश्वव्यापी समुद्री व्यापार र तेल आपूर्तिमा ठुलो अवरोध आउने डर बढेको छ।
अर्कोतर्फ, अमेरिकी सेनाले ओमानको खाडीमा इरानी बन्दरगाहतर्फ गइरहेका तेल ट्याङ्करहरूलाई रोक्न आफ्नो नाकाबन्दी जारी राखेको जनाएको छ। एजेन्सी
प्रकाशित: २६ जेष्ठ २०८३ १०:३९ मंगलबार



