अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक जोखिम र ब्याजदर वृद्धिको चिन्ता थप बढाएको हो। 

सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४ दशमलव ०९ अंक अर्थात् ० दशमलव ७ प्रतिशतले घटेर ५३ हजार १८५ दशमलव ९ अंकमा बन्द भयो। त्यस्तै, एस एन्ड पी ५०० २५ दशमलव ६२ अंक अर्थात् ० दशमलव ३३ प्रतिशतले घटेर ७हजार ६८६ दशमलव १४ अंकमा पुग्यो। नास्डाक समग्र सूचक पनि ३१ दशमलव ५३ अंक अर्थात् ० दशमलव १२ प्रतिशतले घटेर २६ हजार ३७० दशमलव ८९ अंकमा झरेको छ। 

एस एन्ड पी ५०० अन्तर्गतका ११ प्रमुख क्षेत्रमध्ये नौ क्षेत्रमा गिरावट देखिएको छ। सञ्चार सेवा क्षेत्र १ दशमलव ६३ प्रतिशत र उपयोगिता सेवा क्षेत्र १ दशमलव १८ प्रतिशतले घटेका छन्। यता, ऊर्जा क्षेत्र २ दशमलव १ प्रतिशत र प्रविधि क्षेत्र ० दशमलव ३ प्रतिशतले बढेका छन्। 

अमेरिकाले इरानका रकेट प्रक्षेपणस्थललाई लक्षित गरी सैन्य कारबाही गरेपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको हो। स्ट्रेट अफ हर्मुजमा नौसैनिक बारुदी सुरुङ बिछ्याउने धम्कीपछि अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ। केही सातायता दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही भएको जनाइएको छ।  

सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि प्रभाव परेको छ। वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेलको अक्टोबर आपूर्ति मूल्य २ दशमलव ३६ अमेरिकी डलर अर्थात् २ दशमलव ८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८५ दशमलव ७६ डलर पुगेको छ। त्यस्तै, ब्रेन्ट कच्चा तेलको नोभेम्बर आपूर्ति मूल्य २ दशमलव ३९ डलर अर्थात् २ दशमलव ७१ प्रतिशतले बढेर प्रतिब्यारेल ९० दशमलव ४९ डलर पुगेको छ। 

यसबीच, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिलाई लिएर लगानीकर्ताको चिन्ता पनि कायमै छ। अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष केभिन वार्शले ज्याक्सन होल आर्थिक नीति गोष्ठीमा शुक्रबार दिएको कडा नीतिको संकेतपछि आगामी सेप्टेम्बर बैठकमा ब्याजदर ० दशमलव २५ प्रतिशत बिन्दुले बढ्ने सम्भावनाबारे बजारको अपेक्षा ६२ प्रतिशत पुगेको छ। एक साताअघि यस्तो सम्भावना करिब ४० प्रतिशत मात्र थियो। 

ठूला प्रविधि कम्पनीका सेयरमा भने मिश्रित प्रदर्शन देखिएको छ। चिप निर्माता एनभिडियाको सेयर १ दशमलव ४८ प्रतिशतले बढेको छ भने टेस्लाको सेयर ५ दशमलव ५१ प्रतिशतले उकालो लागेको छ। 

यता, अमेजनको सेयर २ दशमलव ५ प्रतिशतले घटेको छ। अमेरिकी संघीय व्यापार आयोग र २२ राज्यले डिजिटल विज्ञापनको लिलामी मूल्य निर्धारणमा अनुचित अभ्यास गरेको आरोप लगाउँदै अमेजनविरुद्ध संयुक्त मुद्दा दायर गरेपछि कम्पनीको सेयर दबाबमा परेको हो। 

एप्पलको सेयर पनि करिब १ प्रतिशतले घटेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले निर्धारित अवकाशअघि सोमबार आफ्नो अन्तिम कार्यदिवस पूरा गरेका छन्। 

अमेरिकी कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेपछि लगानीकर्ताको ध्यान अब शुक्रबार सार्वजनिक हुने अगस्ट महिनाको गैरकृषि रोजगारी प्रतिवेदनतर्फ केन्द्रित भएको छ। उक्त प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको अवस्था र आगामी ब्याजदर नीतिबारे थप स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।  

प्रकाशित: १६ भाद्र २०८३ १२:५९ मंगलबार