नेपालतर्फ उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि चीनको सिजाङ स्वायत्त क्षेत्रको गेइरोङ काउन्टीमा ठुलो पहिरो आएको प्रारम्भिक आकलन गरिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार चीन र नेपालका विज्ञ तथा सम्बन्धित निकायले गरेको प्रारम्भिक मूल्यांकनले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि पहिरो आएको देखाएको बताएका हुन्।
लिनले पहिरोको कारण पत्ता लागेको छ कि छैन, घटनामा फसेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ कि छैन र अझै मानिसहरू बेपत्ता छन् कि छैनन् भन्ने प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। ‘हामी सम्बन्धित विवरण थप पुष्टि गरिरहेका छौँ। हामीले सम्बन्धित देशका चीनमा रहेका दूतावासलाई जानकारी गराएका छौँ र सम्पर्क कायम राख्नेछौँ’, लिनले भने।
विज्ञहरूका अनुसार हिमनदीबाट हिउँ तथा बरफ खसेपछि त्यसले बाटोमा रहेका हिमनदीका अवशेष, माटो र चट्टान बगाउँदै तीव्र गतिमा तल झरेको थियो। त्यसपछि उक्त माटो तथा अवशेषको बहाव गेइरोङ बन्दरगाहसम्म पुगेको थियो।
बुधबार बिहान नेपाल-चीन सीमाको नेपालतर्फबाट आएको पहिरो चीनको गेइरोङ काउन्टीस्थित गेइरोङ बन्दरगाहसम्म पुगेको थियो। पहिरोका कारण ठुलो मानवीय क्षति भएको छ भने मानिसहरू बेपत्ता भएका छन्। चिनियाँ अधिकारीका अनुसार घटनापछि खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। चीनमा मृतकको संख्या सात पुगेको छ भने ५५४ जना अझै बेपत्ता रहेको जनाइएको छ।
चीनले घटनास्थलमा खोज तथा उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्मी तथा प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रका बासिन्दा र अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
प्रकाशित: १३ भाद्र २०८३ ०७:३३ शनिबार