अन्तर्राष्ट्रिय

भारत हामीलाई दुवै मोर्चामा अल्झाउन चाहन्छ : पाकिस्तानी रक्षामन्त्री

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पूर्वी र पश्चिमी दुवै मोर्चामा पाकिस्तानलाई व्यस्त राख्न चाहेको बताएका छन्। बिबिसी उर्दू सेवाका अनुसार ख्वाजा आसिफले पाकिस्तानी समाचार च्यानल जियो न्युजसँगको कुराकानीमा यो कुरा बताएका हुन्।

ख्वाजा आसिफले भने, ‘पाकिस्तानका सबै नेता, संस्था (सेना) र जनता यस कुरामा सहमत छन् कि अफगानिस्तान समस्याको तत्काल समाधान आवश्यक छ। त्यो समाधान भनेको अफगान भूमिबाट हाम्रो क्षेत्रमा हुने आतंकवादलाई पूर्ण रूपमा बन्द गरिनुपर्छ।’

उनले दुई देशबिचको सामान्य सम्बन्ध नै राम्रो समाधान हुने बताए।

पाकिस्तानका रक्षामन्त्रीले थप भने, ‘कसैले पनि यसमा शंका गर्नु हुँदैन, यदि पछि प्रमाण आवश्यक परेमा हामीसँग भारत कसरी यस आतंकवादमा संलग्न छ र हामीलाई दुई मोर्चामा व्यस्त राख्न चाहन्छ भन्ने प्रमाण पनि छ।’

उनले भने, ‘मलाई आशा छ कि अफगानिस्तानसँगको हाम्रो जारी वार्ता राम्रो निष्कर्षमा पुग्नेछ र मित्र राष्ट्रहरूको प्रयास सफल हुनेछ।’ गत महिना पाकिस्तान र अफगानिस्तानबिच सैन्य द्वन्द्व भएको थियो। पछि टर्की र कतारको मध्यस्थतामा युद्धविराम भएको थियो।

यस वर्षको अप्रिलमा भएको पहलगाम आक्रमणले भारत र पाकिस्तानबिच तनाव बढाएको थियो। मे महिनामा पनि दुई देशबिच सैन्य झडप भएको थियो। बिबिसी

प्रकाशित: १६ कार्तिक २०८२ १२:१८ आइतबार