अन्तर्राष्ट्रिय

‘मोदीले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारमा सहयोग नगर्दा भारत-अमेरिका सम्बन्धमा तनाव’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोन कलमा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गरेका थिए।  

तर प्रधानमन्त्री मोदीले उक्त अनुरोध अस्वीकार गर्दै ट्रम्पको दाबीलाई खारेज गरेका थिए। भारतको आधिकारिक अडान अनुसार भारत र पाकिस्तानबीच भएको युद्धविराम अमेरिकाको संलग्नता बिना दुवै देशको प्रत्यक्ष सहमतिमा तय भएको थियो। न्युयोर्क टाइम्सको रिपोर्टमा यस्तो उल्लेख छ।  

रिपोर्ट अनुसार ट्रम्पको नोबेल पुरस्कार खोजीमा सहयोग नगर्ने मोदीको निर्णयले भारत–अमेरिका सम्बन्ध बिगार्न महत्वपूर्ण भूमिका खेलेको हो।  

फोन कलमा ट्रम्पले सैन्य वृद्धि रोक्न पाउँदा गर्व लागेको बताएका थिए र पाकिस्तानले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गर्न लागेको दाबी गरेका थिए। तर मोदीले हालको युद्धविराममा अमेरिकाको कुनै भूमिका नभएको स्पष्ट पारेका थिए।  

फोन कल भएको केही हप्तापछि अमेरिकाले भारतमाथि २५ प्रतिशत पारस्परिक भन्सार शुल्क लगाएको र रूसबाट छुटमा तेल खरिद गरेकोमा थप २५ प्रतिशत जरिवाना घोषणा गरेको थियो। यससँगै भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क लागू भएको थियो।  

न्युयोर्क टाइम्समा मुजीब मशाल, टायलर पेजर र अनुप्रीता दासद्वारा तयार पारिएको यो रिपोर्ट वासिङ्टन र नयाँदिल्लीका एक दर्जनभन्दा बढी व्यक्तिसँगको गोप्य शर्तमा लिइएको अन्तर्वार्तामा आधारित छ। रिपोर्ट अनुसार जुन १७ को फोन कलपछि मोदी र ट्रम्पबीच कुनै संवाद भएको छैन।  

यस वर्षको उत्तरार्धमा भारतमा हुन लागेको क्वाड शिखर सम्मेलनमा पनि अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी नहुन सक्ने सम्भावना छ।  

सोही फोन कलमा प्रधानमन्त्री मोदीले क्यानाडामा भएको जी–७ शिखर सम्मेलनपछि वासिङ्टन भ्रमण गर्न ट्रम्पको निमन्त्रणा अस्वीकार गरेका थिए।  

ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी सेना प्रमुख असीम मुनीरबीच जबरजस्ती हात मिलाउने प्रयास गर्न सक्ने आशङ्काको कारण यो अस्वीकार भएको भनिएको छ।  

भारतका वरिष्ठ अधिकारीका अनुसार, ट्रम्पले भारत–पाकिस्तान सम्बन्धको जटिलताप्रति पर्याप्त चासो देखाएका थिएनन्। पछि आंशिक व्यापार सम्झौतालाई अन्तिम रूप दिन अर्को संवाद गर्ने तयारी भए पनि दुई नेताबीचको विश्वास घट्दै गयो।  

भारतीय अधिकारीलाई यदि कुनै सम्झौता भए पनि ट्रम्पले आफूले चाहेजस्तो कुरा सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गर्नेछन् भन्ने आशङ्का थियो।  

कर वार्ताबाट निराश भएका ट्रम्पले मोदीसँग बारम्बार सम्पर्क गर्ने प्रयास गरेका थिए। तर ती प्रयासको मोदीले कुनै जवाफ दिएका थिएनन्।  

यद्यपि ह्वाइट हाउसका प्रवक्ताले भने रिपोर्ट अनुसार ट्रम्पले सम्पर्क गरेको दाबी अस्वीकार गरेका छन्। एएनआई

प्रकाशित: १५ भाद्र २०८२ १३:४० आइतबार