अन्तर्राष्ट्रिय

भारतले पेट्रोलियम पदार्थको निर्यात शुल्क घटायो

भारत सरकारले जुन १ (सोमबार) देखि लागू हुने गरी आगामी १५ दिनका लागि पेट्रोल, डिजेल र उड्डयन टर्बाइन इन्धन (एटीएफ) को निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाउने निर्णय गरेको छ।

भारतको अर्थ मन्त्रालयअन्तर्गतको प्रेस सूचना ब्युरो (पीआईबी) ले शनिबार राति जारी गरेको विज्ञप्तिअनुसार नयाँ दरहरू आगामी १५ दिनसम्म कायम रहने छन्। नयाँ निर्धारण गरिएको दरअनुसार पेट्रोलको निर्यातमा प्रतिलिटर १.५ भारतीय रुपैयाँ, डिजेलको निर्यातमा प्रतिलिटर १३.५ भारतीय रुपैयाँ र एटीएफको निर्यातमा प्रतिलिटर ९.५ भारतीय रुपैयाँ शुल्क तोकिएको छ।

पश्चिम एसियाली संकट (इरान युद्ध) का कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै भारतले गत मार्च २७ देखि पेट्रोलियम पदार्थको निर्यातलाई निरुत्साहित गर्न र घरेलु बजारमा उपलब्धता सुनिश्चित गर्न विशेष अतिरिक्त उत्पादन शुल्क (एसएईडी) तथा सडक एवं पूर्वाधार उपकर (आरआईसी) मार्फत निर्यात शुल्क लागू गरेको थियो।

जानकारी अनुसार कच्चा तेल, पेट्रोल, डिजेल र एटीएफको औसत अन्तर्राष्ट्रिय मूल्यको समीक्षा गर्दै प्रत्येक १५ दिनमा यस्तो निर्यात शुल्क परिमार्जन गर्ने गरिएको छ। यसअघि गत मे १६ मा यसको समीक्षा गरिएको थियो।

निर्यात शुल्कमा कटौती गरिए पनि भारतले आफ्नै देशको घरेलु खपतका लागि स्वीकृत गरिएको पेट्रोल र डिजेलमा लाग्दै आएको विद्यमान अन्तःशुल्क दरमा भने कुनै परिवर्तन नगरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

यसले मुख्य रूपमा निर्यातकर्ता र रिफाइनरी कम्पनीहरूलाई फाइदा पुग्ने भए पनि भारतीय बजारमा पेट्रोल र डिजेलको खुद्रा मूल्यमा तत्काल कुनै कमी आउने सम्भावना छैन ।

प्रकाशित: १७ जेष्ठ २०८३ ०७:२१ आइतबार