अन्तर्राष्ट्रिय

भारत-चीनले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको घोषणा गर्दा नेपाल बेखबर

भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको आधिकारिक घोषणा गर्दै आवेदन खुला गरेको छ। बिहीबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चिनियाँ सरकारसँगको समन्वयमा तीर्थयात्रा आयोजना गरिने उल्लेख छ।

मन्त्रालयका अनुसार यो तीर्थयात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। भारतीय विदेश मन्त्रालयका अनुसार १० वटा समूहले लिपुलेक र १० वटा समूहले नाथु ला हुँदै यात्रा गर्न सक्नेछन्। प्रत्येक समूहमा ५० जनाका दरले कुल एक हजार तीर्थयात्री सहभागी हुन पाउनेछन्। इच्छुकहरूले आधिकारिक वेबसाइटमार्फत मे १९ सम्म आवेदन दिन सक्नेछन्। मन्त्रालयले निष्पक्ष र कम्प्युटर प्रणालीमार्फत आवेदकहरूमध्येबाट यात्रीहरूको छनोट गरिने बताएको छ।

यसबारे भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यु जिङले भनेकी छिन्, ‘२०२६ मा चीनको सिजाङ स्वायत्त क्षेत्रको काङ्ग्रिनबोकी फेङ र मापाम युको (कैलाश मानसरोवर यात्रा) मा भारतीय साथीहरूको तीर्थयात्रा पुनः सुरु भएकोमा स्वागत छ। यस वर्ष एक हजार भारतीय तीर्थयात्रीहरूलाई सेवा दिन पाउँदा हामी खुसी छौँ। यो यात्रा विश्वासको पुल बनोस्।’

यद्यपि, यसबारे नेपाललाई भने कुनै जानकारी गराइएको छैन। यस यात्राका लागि भारतले दुईवटा मार्ग तोकेको छ: एउटा उत्तराखण्ड राज्यको लिपुलेक दर्रा र अर्को सिक्किमको नाथु ला दर्रा। नेपालको लिपुलेक र कालापानी क्षेत्र हाल भारतको नियन्त्रणमा छ। भारतले यो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ भने नेपालले आधिकारिक रूपमा यसको विरोध गर्दै आएको छ। हालै भारत र चीनले लिपुलेक हुँदै सीमा नाका खोल्न सहमति गरेपछि नेपालले विरोध समेत जनाएको थियो।

कैलाश मानसरोवर हिन्दू, जैन र भगवान शिवका भक्तहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ। हिन्दू पौराणिक कथाहरूले कैलाश पर्वतलाई भगवान शिव, देवी पार्वती, भगवान गणेश र कार्तिकेयको निवास मान्छन्। उता, जैनहरूका लागि कैलाश पर्वतलाई अष्टपद पर्वत वा सुमेरु पर्वत भनेर चिन्छन्, जहाँ जैन धर्मका संस्थापक भगवान आदिनाथले जैन धर्मको स्थापना गरेर मोक्ष प्राप्त गरेका थिए भन्ने विश्वास गरिन्छ।

प्रकाशित: १८ वैशाख २०८३ १३:२७ शुक्रबार