भारतले अफगानिस्तानसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापना गरेको छ। दिल्लीले काबुलमा दूतावास खोल्ने घोषणा गरेको छ। तालिबान शासित अफगानिस्तानसँगको सम्बन्धमा यो महत्त्वपूर्ण कदम हो। भारतले काबुलस्थित आफ्नो नियोगलाई ‘पूर्ण दूतावासको दर्जा’ दिने निर्णय गरेको हो।
अमिर खान मुताकी तालिबान सरकारबाट दिल्ली भ्रमण गर्ने पहिलो अफगानी विदेशमन्त्री हुन्। उनले भारतीय विदेशमन्त्री जयशंकरसँग काबुलमा दूतावास खोल्ने विषयमा छलफल गरेका हुन्। शुक्रवार भएको भेटमा जयशंकरले भने, ‘भारतले सधैँ अफगानिस्तानलाई समर्थन गरेको छ। अफगानहरू हाम्रा लागि धेरै महत्त्वपूर्ण छन्। हालै, आतंकवादविरुद्धको लडाइँमा अफगानहरूले हामीलाई समर्थन गरेका छन्।’
चार वर्षअघि तालिबान र तत्कालीन अफगान सरकारबिचको द्वन्द्वका कारण काबुलस्थित दूतावासको स्तर घटाइएको थियो। साना सहरका वाणिज्य दूतावास बन्द गरिएका थिए। जयशंकरले मुताकीलाई काबुलस्थित प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने जानकारी दिए।
हिंसाका कारण भारतले आफ्ना कर्मचारी फिर्ता ल्याउन सैन्य विमान प्रयोग गरेको थियो। तर एक महिनापछि भारतले काबुलमा कूटनीतिक उपस्थिति पुनः सुरु गरेको थियो। तालिबानले भारतीय अधिकारीहरूलाई काबुल फिर्ता भएमा पर्याप्त सुरक्षा दिने बताएका छन्। एजेन्सी
प्रकाशित: २४ आश्विन २०८२ १४:१२ शुक्रबार