अन्तर्राष्ट्रिय

निजी होइन, सरकारी अस्पतालमा इमरानको स्वास्थ्य परीक्षण : ‘मेडिकली फिट’ भएपछि जेल फिर्ता

फाइल तस्बिर

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई स्वास्थ्य परीक्षणपछि जेल फर्काइएको छ।

उनको परीक्षण शिफा इन्टरनेशनल अस्पतालको सट्टा सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा भएको खुलेको छ। स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई ‘मेडिकली फिट’ घोषित गरेका छन्। संघीय सरकारका सूचना तथा सञ्चारमन्त्री अत्ताउल्लाह तरारका अनुसार इमरानलाई बिहीबार मध्यराति कडा सुरक्षा व्यवस्थाबिच अदियाला जेलबाट पिम्स लगिएको थियो। नेत्र रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ र अन्य चिकित्सकसहितको टोलीले उनको विस्तृत स्वास्थ्य परीक्षण गरेको थियो।

तरारले एक्समा पोस्ट गर्दै परीक्षणका क्रममा इमरानकी बहिनी उज्मा खान पनि उपस्थित रहेको बताएका छन्। स्वास्थ्य परीक्षण सकिएपछि शुक्रबार बिहान करिब ५ बजे उनलाई पुनः अदियाला जेल फर्काइएको उनले बताए। यसअघि सर्वोच्च अदालतले इमरानलाई स्वास्थ्य परीक्षण र उपचारका लागि इस्लामाबादस्थित निजी शिफा इन्टरनेशनल अस्पताल लैजान सरकारलाई आदेश दिएको थियो। तीन सदस्यीय इजलासले अगस्ट १८ मा यस्तो आदेश दिएको थियो। अदालतले इमरानको स्वास्थ्य मूल्यांकन र उपचारका लागि विभिन्न विशेषज्ञ सम्मिलित मेडिकल बोर्ड गठन गर्न पनि भनेको थियो।

तर सरकारले निजी अस्पतालमा स्थानान्तरण गर्ने सर्वोच्चको आदेशमाथि पुनरावलोकन माग गर्दै निवेदन दायर गरेको थियो। सरकारले इमरानलाई सरकारी अस्पतालमै उपचार गराउन सकिने तर्क गरेको थियो। उक्त पुनरावलोकन निवेदन सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले केही आपत्ति जनाउँदै फिर्ता गरेको थियो। तरारका अनुसार शिफा इन्टरनेशनल अस्पताल जाने र फर्किने क्रममा पीटीआई कार्यकर्ताहरूका कारण उत्पन्न हुन सक्ने सुरक्षा अवस्थालाई ध्यानमा राखेर खानलाई पिम्स लगिएको हो। पिम्समा गरिएको स्वास्थ्य परीक्षणमा शिफा इन्टरनेशनल अस्पतालका चिकित्सकहरू पनि सहभागी रहेको उनले बताएका छन्।

इमरान यसअघि पनि आँखाको उपचारका लागि पिम्स गएका थिए। उनको दायाँ आँखामा सेन्ट्रल रेटिनल भेन अक्लुजन (सीआरभीओ) समस्या देखिएपछि पिम्सका विशेषज्ञबाट उपचार भइरहेको थियो। पछिल्लो मेडिकल रिपोर्टमा उनको आँखाको दृष्टि लगभग सामान्य अवस्थामा फर्किएको उल्लेख गरिएको छ। सर्वोच्च अदालतमा पेस गरिएको रिपोर्टअनुसार जेल प्रशासनले इमरानको स्वास्थ्य नियमित रूपमा निगरानी गरिरहेको दाबी गरेको थियो। चिकित्सकहरूले उनको रक्तचाप, मुटुको धड्कन र अक्सिजनको मात्रा जाँच गर्दै आएको रिपोर्टमा उल्लेख थियो।

तर अगस्ट १ मा पिम्सका चिकित्सकले गरेको परीक्षणमा उनको रक्तचाप अनियन्त्रित र अस्थिर रहेको, साथै धड्कन बढ्ने, टाउको दुख्ने र बेचैनी हुने समस्या देखिएको उल्लेख गरिएको थियो। चिकित्सकले मानसिक तनाव कम गर्न परिवारसँग नियमित भेटघाट, पढ्ने सामग्रीमा पहुँच र अन्य गतिविधि बढाउन सुझाव दिएका थिए। थप परीक्षणका रूपमा सीटी कोरोनरी एन्जियोग्राफी गर्न र रक्तचापको औषधि बढाउन पनि सिफारिस गरिएको थियो।

अगस्ट १० मा पिम्सका विशेषज्ञ सम्मिलित मेडिकल बोर्डले पनि इमरानको स्वास्थ्य परीक्षण गरेको थियो। बोर्डले दैनिक एक घण्टा हिँड्न, पर्याप्त आराम गर्न तथा पत्रपत्रिका, पुस्तक र टेलिभिजनमा पहुँच दिन सुझाव दिएको थियो। सर्वोच्च अदालतको आदेशपछि इमरानलाई शिफा इन्टरनेशनल अस्पताल लैजाने तयारी गरिएको थियो। अस्पताल वरपर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

इस्लामाबाद प्रहरी प्रमुख सैयद अली नासिर रिजवीले पनि अस्पतालको सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए। सुरक्षा आदेशअनुसार विभिन्न सुरक्षा निकायबाट करिब ८०० कर्मचारी परिचालन गर्ने तयारी गरिएको थियो। सुरक्षा व्यवस्थाअन्तर्गत सर्वसाधारणको सुरक्षा, आतंकवादी गतिविधिबाट संरक्षण, सार्वजनिक व्यवस्था कायम राख्ने र सडकमा यातायात सहज बनाउने जिम्मेवारी सुरक्षाकर्मीलाई दिइएको थियो।

पीटीआईले पनि आफ्ना समर्थकलाई अस्पताल बाहिर ठुलो संख्यामा भेला नहुन आग्रह गरेको थियो। पार्टीका सूचना सचिव शेख वकास अकरमले इमरानलाई अस्पताल लैजाने तयारी भइरहेकाले समर्थकहरूले उनको स्वास्थ्य र उपचारलाई प्राथमिकता दिन आग्रह गरेका थिए। खानको स्वास्थ्य अवस्थालाई लिएर पाकिस्तान सरकार र पीटीआईबिच लामो समयदेखि आरोप-प्रत्यारोप चलिरहेको छ। पीटीआईले सरकारले पर्याप्त उपचार उपलब्ध नगराएको र उनका व्यक्तिगत चिकित्सकलाई पहुँच नदिएको आरोप लगाउँदै आएको छ। सरकारले भने यी आरोप अस्वीकार गर्दै आएको छ।

सर्वोच्च अदालतले भने हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य, मर्यादा र सुरक्षाको रक्षा गर्नु राज्यको संवैधानिक तथा कानुनी दायित्व भएको उल्लेख गरेको थियो। अदालतले कैदमा रहेका कारण कुनै व्यक्तिलाई मानवीय व्यवहार र आवश्यक स्वास्थ्य उपचारबाट वञ्चित गर्न नसकिने पनि स्पष्ट पारेको थियो। ७३ वर्षीय खान अगस्ट २०२३ देखि जेलमा छन्। उनीमाथि विभिन्न मुद्दामा सजाय सुनाइएको छ। तर खान र उनको पार्टीले मुद्दालाई राजनीतिक रूपमा प्रेरित भन्दै आरोप अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: ५ भाद्र २०८३ १३:०० शुक्रबार