अन्तर्राष्ट्रिय

इमरानका तीनै बहिनीलाई हिरासतमा पठाइयो

फाइल तस्बिर

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) संस्थापक इमरान खानका तीन बहिनी अलिमा खान, डा. उज्मा खान र नूरिन नियाजीलाई ३० दिनका लागि हिरासतमा पठाइएको छ।

लाहोरका उपायुक्तले उनीहरूलाई पञ्जाब मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ) अध्यादेशअन्तर्गत हिरासतमा राख्न आदेश दिएका हुन्। आदेशमा उनीहरूको गतिविधि सार्वजनिक सुरक्षा र शान्तिका लागि जोखिम हुन सक्ने उल्लेख गरिएको छ।

पीटीआईले सेप्टेम्बर २७ मा इमरानको रिहाइको माग गर्दै देशव्यापी प्रदर्शन र इस्लामाबाद मार्चको आह्वान गरेको छ। त्यसअघि पञ्जाबमा पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही बढाइएको हो।

उज्मा र नूरिनमाथि मे ९ को प्रदर्शनमा सहभागी भएको तथा सार्वजनिक र सरकारी सम्पत्तिमा क्षति पुर्‍याउन कार्यकर्तालाई उक्साएको आरोप लगाइएको छ। उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममार्फत कार्यकर्तालाई परिचालन गरिरहेको पनि आदेशमा उल्लेख छ।

यसअघि आइतबार अलिमा खानलाई पनि एमपीओअन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको थियो। पीटीआईका वकिलले इमरानका तीनै बहिनीलाई हिरासतमा लिइएको पुष्टि गरेका छन्।

पीटीआईले तीनै जनालाई हिरासतमा लिइएको घटनाको विरोध गर्दै यसलाई मानव अधिकारको दुरुपयोग र राजनीतिक रूपमा प्रतिशोध लिने कार्य भनेको छ। इमरानका छोरा कासिम खानले पनि आफ्ना काकीहरूलाई जबर्जस्ती हिरासतमा लगिएको दाबी गरेका छन्।

सेप्टेम्बर २७ को प्रदर्शनअघि पञ्जाबमा पीटीआईका अन्य नेता तथा कार्यकर्तालाई समेत एमपीओअन्तर्गत हिरासतमा राखिएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। शहबाज सरिफ सरकारले इस्लामाबादमा हुने मार्च जसरी पनि रोक्ने बताएको छ।

प्रकाशित: ५ आश्विन २०८३ १३:४९ सोमबार