भारतको केन्द्रीय राजधानी दिल्लीमा बढ्दो प्रदूषणविरुद्ध इन्डिया गेटमा सयौं प्रदर्शनकारी भेला भएका छन्। आइतबार प्रहरीले प्रदर्शनकारीहरूलाई घटनास्थलबाट हटाएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा ८० जनालाई हिरासतमा लिएको छ। प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर स्वच्छ हावाको लागि सरकारविरुद्ध नाराबाजी गरेका थिए।
विरोध प्रदर्शनमा सबै उमेरका पुरुष, महिला, बालबालिका, जेन-जी युवा र विद्यार्थी सहभागी भएका थिए। आम आदमी पार्टीका नेता सौरभ भारद्वाज, प्रियंका कक्कर, कांग्रेस नेता र वरिष्ठ अधिवक्ता प्रशान्त भूषणजस्ता विपक्षी नेताहरू पनि उक्त प्रदर्शनमा उपस्थित थिए। प्रदर्शनकारीहरूले नेबुलाइजर र चिकित्सकीय प्रमाणपत्र बोकेर स्वास्थ्य संकट देखाएका थिए।
विरोध प्रदर्शनको क्रममा दिल्ली प्रहरी निरीक्षक मनोज कुमार सिंहले माइकमा प्रदर्शनकारीहरूलाई भने, ‘यो एक प्रतिबन्धित (रेड जोन) क्षेत्र हो, जहाँ पाँच वा सोभन्दा बढी मानिसहरू भेला हुन अनुमति छैन।’ उनका अनुसार प्रदर्शनकारीविरुद्ध कानुनी कारबाही गरिनेछ।
प्रहरीले प्रदर्शनकारीहरूलाई जन्तरमन्तरतिर जान आग्रह गरेको थियो। जन्तरमन्तर विरोध प्रदर्शनका लागि तोकिएको स्थल भएको जनाइएको छ।
तर जब प्रदर्शनकारी इन्डिया गेट नजिकै धर्नामा बसेपछि दिल्ली प्रहरीले कारबाही गरेको हो। प्रदर्शनकारीहरूले सरकारले डाटा हेरफेर गरेको र पर्याप्त काम नगरेको आरोप लगाएका छन्। एजेन्सी
प्रकाशित: २४ कार्तिक २०८२ ०८:२८ सोमबार