हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ।
संस्थाका अनुसार सुरक्षा कारबाहीका नाममा गरिएको ‘ठूलो मात्रामा घातक’ ड्रोन प्रयोगले बालबालिकासहित निर्दोष नागरिकलाई पनि गम्भीर जोखिममा पारेको छ।
ह्युमन राइट्स वाचले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म सञ्चालन गरिएका १४१ वटा ड्रोन अपरेसनका क्रममा कम्तीमा एक हजार २४३ जनाको मृत्यु भएको छ। ती मृतकमध्ये कम्तीमा ४३ जना वयस्क आपराधिक गिरोहका सदस्य नभएको स्पष्ट देखिएको छ भने १७ जना बालबालिका पनि रहेका छन्।
त्यसैगरी यी आक्रमणहरूमा ७३८ जना घाइते भएका छन्। घाइतेमध्ये कम्तीमा ४९ जना आपराधिक समूहसँग सम्बन्धित नभएका व्यक्तिहरू रहेको उल्लेख गरिएको छ।
हाइटीमा पछिल्ला वर्षहरूमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार आपराधिक गिरोहहरूले अहिले राजधानी पोर्ट–अ–प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन्। सन् २०२५ मा मात्रै गिरोह हिंसासम्बन्धी घटनामा झन्डै छ हजार जनाको ज्यान गएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको छ।
क्यारिबियन क्षेत्रमा पर्ने हाइटी अमेरिकाको सबैभन्दा गरिब देश मानिन्छ। यहाँ वर्षौंदेखि हत्या, बलात्कार र अपहरणका घटनासहितको घातक गिरोह हिंसा व्यापक रूपमा फैलिएको छ।
लगातारको हिंसाका कारण करिब १४ लाख मानिस अर्थात् कुल जनसङ्ख्याको करिब १० प्रतिशत विस्थापित भएका छन्। त्यसैगरी हाइटीका झन्डै आधा नागरिक अहिले गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको अनुमान गरिएको छ। यसमा पाँच वर्षमुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन्।
ह्युमन राइट्स वाचका अमेरिकासम्बन्धी निर्देशक जुआनिता गोबर्टसले यी आक्रमणहरूले निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्याइरहेको बताए। उनका अनुसार यी घातक ड्रोन अपरेसनहरूमा धेरै बालबालिकासहित दर्जनौँ सर्वसाधारण नागरिक मारिएका र घाइते भएका छन्।
उनले हाइटीका अधिकारीहरूलाई सुरक्षा बल र उनीहरूसँग काम गर्ने निजी ठेकेदारहरूको गतिविधिलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरे । 'थप बालबालिकाको ज्यान जानुअघि हाइटीका अधिकारीहरूले आफ्नो सुरक्षा बल र निजी ठेकेदारहरूलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ', उनले भने।
हाइटीमा रहेको संयुक्त राष्ट्रसङ्घको एकीकृत कार्यालयका अनुसार यी ड्रोन आक्रमणहरू प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेले गठन गरेका टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो। उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी भेक्टस ग्लोबलले परिचालन सहयोग उपलब्ध गराइरहेको बताइएको छ।
ह्युमन राइट्स वाचका अनुसार हाइटीका लागि वासिङ्टनस्थित राजदूतले अमेरिकी विदेश मन्त्रालयले भेक्टस ग्लोबललाई हाइटीमा रक्षा सेवाहरू निर्यात गर्न अनुमति दिने इजाजतपत्र जारी गरेको पुष्टि गरेको छ। एएफपी
प्रकाशित: २६ फाल्गुन २०८२ १२:५४ मंगलबार