अन्तर्राष्ट्रिय

ब्राजिलमा हेलिकप्टर दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु

ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।

शनिबार भएको यो दुर्घटनामा पाइलट र एकै परिवारका तीन कोलम्बियाली महिलाको मृत्यु भएको ब्राजिलस्थित कोलम्बियाली कन्सुलले जनाएको छ। उनीहरू तिजुका राष्ट्रिय निकुञ्जमाथि घुम्नका लागि उडानमा रहेका थिए।

दुर्घटनापछि रियोका मेयर एडुआर्डो काभालिएरले सहरमा भइरहेका हेलिकप्टर उडानको निगरानी कडा बनाउनुपर्ने बताएका छन्। मेयर काभालिएरले नयाँ सुरक्षा मापदण्ड लागू नभएसम्म त्यस्ता उडानहरू एक वा दुई हप्ताका लागि बन्द गर्न सकिने सुझाव दिए।

उनले सहरले ब्राजिलको राष्ट्रिय नागरिक उड्डयन एजेन्सी (एएनएसी) सँग मिलेर रियोमाथि हुने हेलिकप्टर उडानको संख्या र सुरक्षाको निगरानी बढाउन आग्रह गरेको बताए।

साथै, एएनएसीले ल्याउने नयाँ सुरक्षा नियमहरू पालना गर्न सहरको तर्फबाट पूर्ण सहयोग रहने उनले बताए। एजेन्सी

प्रकाशित: २४ श्रावण २०८३ ०९:४५ आइतबार