अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण उत्तर प्रदेशमा ५६ जनाको मृ’त्यु, केदारनाथ यात्रामा रोक

चक्रवात ‘अर्नब’ को कारण भएको भारी वर्षाले भारतका विभिन्न स्थानका जनजीवन प्रभावित भएको छ।

भारी वर्षाको कारण भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ राज्यमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ।  

उत्तर प्रदेशमा तीन दिनदेखिको निरन्तर वर्षाका कारण ५६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। राहत आयुक्तको कार्यालयका अनुसार राज्यमा १,०२१ घरमा क्षति पुगेको भने १०७ जनावर मरेको छ।

यस्तै, उत्तराखण्डको ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेको छ। यस्तै, केदारनाथ पदयात्राको चिरबासा हेलिप्याड नजिकै पहिरो खस्दा ६,५०० भन्दा बढी तीर्थयात्रीहरू अलपत्र परेका छन्। पहिरोको क्रममा ढुङ्गाले लागेर एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको प्रशासनले जनाएको छ।

मौसम थप प्रतिकूल बन्दै गएपछि प्रशासनले केदारनाथ यात्रामा रोक लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरेको छ।

यस्तै, बिहारको सुपौल जिल्लाका ५० गाउँहरू पूर्ण रूपमा जलमग्न भएका छन् भने १७ जिल्लाका करिब ६ हजार गाउँहरू टापुमा परिणत भएका छन्। यहाँका ५०० भन्दा बढी घरहरू बाढीको चपेटामा परेका छन्।

प्रकाशित: ११ आश्विन २०८३ १७:३७ आइतबार