अन्तर्राष्ट्रिय

युक्रेनको ओडिसामा भारी वर्षा, नौ जनाको मृत्यु

युक्रेनको प्रमुख सहरमध्ये एक ओडिसामा भारी वर्षाले निम्त्याएको बाढीका कारण एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। दक्षिणी बन्दरगाह क्षेत्रमा बुधबार आएको बाढीले जनधनको क्षति गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

लगातार सात घण्टामा भएको वर्षाका कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्त्रण गरेको अधिकारीहरूले बताएका छन्। जेलेन्स्कीले वर्षाका कारण परिस्थिति असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताए।  

बाढीमा फसेका  ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ। उडिसाका मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताएका छन्। युक्रेनमा भोलिसम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: १५ आश्विन २०८२ २०:५७ बुधबार