अन्तर्राष्ट्रिय

भारतको हरिद्वारमा गंगा नदी सुकेको हो ?

भारतको हरिद्वारस्थित गंगा नदी सुकेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि यसबारे विभिन्न चासो व्यक्त भइरहेका छन्।

सामान्य अवस्थामा पानीले ढाकिने नदी किनारका भागहरू सुकेको देखिएपछि गंगा नदीको अवस्था र प्रदूषणबारे पनि चर्चा सुरु भएको छ।

तर गंगा नदी वास्तवमै सुकेको भने होइन। हरिद्वारस्थित हरकी पौडी क्षेत्रमा पानीको बहाव घट्नुको मुख्य कारण माथिल्लो गंगा नहर अस्थायी रूपमा बन्द गरिनु हो।

आगामी कुम्भ मेलाको तयारी तथा वार्षिक मर्मतसम्भारका लागि अक्टोबर २० देखि माथिल्लो गंगा नहर बन्द गरिएको हो। निर्धारित कार्यतालिकाअनुसार नहर नोभेम्बर ८ सम्म बन्द रहनेछ।

यस अवधिमा अधिकारीहरूले घाटहरूको मर्मत, सरसफाइ तथा आवश्यक निर्माण कार्य गरिरहेका छन्।

नहर बन्द भएपछि नदीमा पानीको बहाव घट्दा नदिका ढुंगा र किनारका भागहरू बाहिर देखिएका हुन्। यही दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पानी घट्दा देखियो नदी किनारमा थुप्रिएको फोहोर

पानीको सतह घटेसँगै नदी किनारमा थुप्रिएको फोहोर पनि स्पष्ट देखिएको छ। खुला भएका क्षेत्रमा प्लास्टिकका झोला, पोलिथिन, फालिएका कपडा, नरिवलका बोक्रा, धार्मिक मूर्ति तथा अन्य फोहोर छरिएको देखिन्छ।

गंगा नदी हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्थाको प्रमुख केन्द्र हो। लाखौँ मानिस स्नान, पूजाआजा तथा अन्य धार्मिक गतिविधिका लागि यस नदीमा पुग्ने गर्छन्।

यसका साथै नदीले ठूलो जनसङ्ख्यालाई पानी उपलब्ध गराउनुका साथै विभिन्न जीवजन्तुको बासस्थानका रूपमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

तर नदी किनारमा देखिएको फोहोरले गंगाको सरसफाइ र प्रदूषण नियन्त्रणको चुनौतीलाई फेरि उजागर गरेको छ।

गंगा नदीले लामो समयदेखि विभिन्न प्रकारका प्रदूषणको सामना गर्दै आएको छ। ढल, औद्योगिक फोहोर, कृषिबाट बगेर आउने प्रदूषित पानी र जथाभावी फालिने ठोस फोहोर नदी प्रदूषणका प्रमुख स्रोत हुन्। यसमध्ये प्लास्टिकजन्य फोहोर पनि गम्भीर समस्याका रूपमा देखिएको छ।

आगामी कुम्भ मेलालाई लक्षित गर्दै घाटहरूको मर्मतसम्भार र सरसफाइका काम भइरहेका बेला गंगा नदीलाई स्वच्छ राख्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १८:४१ शनिबार