अमेरिकाका सरकारी निकायमाथि साइबर आक्रमणका घटना बढ्न थालेका छन्।
ह्याकरहरूले संघीय अनुसन्धान ब्युरो (एफबीआई) को राष्ट्रिय अपराध सूचना केन्द्र (एनसीआईसी) मा अनधिकृत पहुँच बनाएको खुलासा भएको छ। पछिल्ला केही महिनामा उक्त प्रणालीमा भएको यो दोस्रो साइबर आक्रमण हो।
सीएनएनका अनुसार एफबीआईले आफ्नो राष्ट्रिय अपराध सूचना केन्द्रमा भएको साइबर आक्रमणबारे अनुसन्धान गरिरहेको छ। यस विषयमा जानकारी राख्ने दुई व्यक्तिलाई उद्धृत गर्दै सीएनएनले शुक्रबार यो घटना सार्वजनिक गरेको हो।
एनसीआईसी अमेरिकाका संघीय, राज्य तथा स्थानीय सुरक्षा निकायबिच सूचना आदानप्रदान गर्ने महत्त्वपूर्ण प्रणाली हो। यसले सुरक्षा निकायलाई आपराधिक गतिविधि, पक्राउ पुर्जी तथा आपराधिक पृष्ठभूमिसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको छ।
यसैबिच, अमेरिकी कृषि विभाग (यूएसडीए) पनि यसै साता साइबर आक्रमणको सिकार भएको छ। एनबीसी न्युजका अनुसार ह्याकरहरूले किसानलाई भुक्तानी गर्न प्रयोग हुने विभागको प्रणालीमा पहुँच बनाएका थिए।
कृषि विभागका अधिकारीले पनि आफ्नो प्रणालीमा साइबर खतरा देखिएको पुष्टि गरेका छन्। विभागले कर्मचारीलाई प्रणालीमा सुरक्षा समस्या देखिएको जानकारी गराएको थियो। यस घटनाले किसानलाई गरिने भुक्तानी र विभागका अन्य संवेदनशील तथ्यांकको सुरक्षाबारे चिन्ता बढाएको छ।
अमेरिकी सरकारी निकायमाथि साइबर आक्रमणका घटना सार्वजनिक भइरहेका बेला हवाई यातायात, बैंकिङ कारोबार र राष्ट्रिय सुरक्षा प्रणालीमा समेत प्राविधिक अवरोध देखिएका छन्। यी घटनाले अमेरिकाको साइबर सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठाएको छ।
तर अमेरिकी गुप्तचर अधिकारीहरूले पछिल्ला प्राविधिक अवरोधलाई समन्वित साइबर आक्रमण वा कुनै राष्ट्रले गराएको आक्रमणका रूपमा व्याख्या गरेका छैनन्। उनीहरूका अनुसार ती अवरोध नियमित मर्मतसम्भार र प्राविधिक परिवर्तनका कारण भएका छुट्टाछुट्टै घटना हुन्।
यसैबिच, सरकारी प्रविधि प्रणालीमा देखिएका अवरोध र साइबर सुरक्षासम्बन्धी आलोचनाबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट हटाएका छन्। उनले सन् २०२५ अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए।
एक्सियोसका अनुसार ट्रम्पले रक्षा मन्त्रालयकी प्रमुख सूचना अधिकारी कस्र्टन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशकका रूपमा अघि सारेका छन्। उक्त पदमा स्थायी नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्नेछ।
यसरी एकपछि अर्को सरकारी प्रणालीमा साइबर आक्रमणका घटना सार्वजनिक भइरहेका बेला अमेरिकाको साइबर सुरक्षा क्षमता र संवेदनशील सरकारी तथ्यांकको सुरक्षाबारे बहस थप चर्किएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रकाशित: ५ मंसिर २०८३ २२:०४ शनिबार