अन्तर्राष्ट्रिय

ग्रीनल्याण्ड विवाद : ८ युरोपेली देशमाथि ट्रम्पले लगाए १० प्रतिशत कर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि अमेरिकी नियन्त्रणको विरोध गर्ने आठ युरोपेली देशविरुद्ध करलाई हतियार बनाएका छन्। 

उनले डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड र फिनल्याण्डबाट आउने सामानमा फेब्रुअरी १ देखि लागू हुने गरी १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका हुन्। उनका अनुसार यो कर ‘ग्रीनल्याण्डको पूर्ण खरिद’को सम्झौता नभएसम्म कायम रहनेछ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यी देशहरूले ग्रीनल्याण्डको विषयमा विरोध गरेको भन्दै यो कदम चालेको दाबी गरेका छन्। यसको विरोधमा डेनमार्क र ग्रीनल्याण्डमा ठूला प्रदर्शन भएका छन्। ग्रीनल्याण्डका हजारौं नागरिक सडकमा उत्रिएर लोकतान्त्रिक प्रणाली, जनताको अधिकार र आत्मनिर्णयको रक्षा गर्ने अडान लिएका छन्।

हालैको सर्वेक्षणमा ८५ प्रतिशत ग्रीनल्याण्डवासी अमेरिकामा सामेल हुने कुराको विरोध गर्छन्। केवल ६ प्रतिशतले मात्र अमेरिकी शासन चाहन्छन्। उनीहरूले यो लडाइँ ग्रीनल्याण्डको मात्र नभई अन्तर्राष्ट्रिय कानून र आत्मसम्मानको रक्षाका लागि विश्वव्यापी भएको भनेका छन्। एजेन्सीको सहयोगमा 

प्रकाशित: ४ माघ २०८२ ०७:१२ आइतबार